१२ श्रावण २०८१, शनिबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

गोरखाको माछीखोलामा प्रहरी चौकीको भवन निर्माण

२८ जेठ, गोरखा । धार्चे गाउँपालिका–५ स्थित माछीखोला प्रहरी चौकीको भवन निर्माण सम्पन्न भएको छ । लामो समयदेखि अस्थायी टहराबाट सञ्चालन भइरहेको माछीखोला प्रहरी चौकीको भवन करिब रु ४१ लाखको लागतमा निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिए ।

गाउँपालिकाले उपभोक्ता समितिमार्फत भवन निर्माण सम्पन्न गरेको उनको भनाइ छ । “भवन निर्माणका लागि पालिकाले करिब रु ३८ लाख बजेट विनियोजन गरेको थियो”, उनले भने, “त्यसबाहेक रु तीन लाख १३ हजार आठ सय ५८ बराबरको स्थानीय उपभोक्ता समितिमार्फत श्रमदान भएको छ ।”

विसं २०८० मङ्सिरमा गाउँपालिकाले भवन निर्माणको काम अघि बढाएको थियो । निर्माण सुरु भएको करिब पाँच महिनामा काम सम्पन्न भएको हो । भवन निर्माण सम्पन्न भएसँगै अब माछीखोला प्रहरी चौकीले पक्की भवनबाट नागरिकलाई सेवा दिन पाउने भएको छ । निर्माण सम्पन्न गरिए पनि भवन हस्तान्तरण गर्न बाँकी छ ।

लामो समयदेखि जीर्ण बनेको अस्थायी टहराबाट सञ्चालित माछीखोला प्रहरी चौकीबाट प्रहरीलाई हातहतियारको सुरक्षाका साथै सेवा प्रवाहमा समेत कठिनाइ हुँदै आएको थियो । “प्रहरी चौकीको भवन नहुँदा प्रहरीले दिने सेवा चुस्त, दुरुस्त र प्रभावकारी बनाउन समस्या रहेको थियो,”उनले भने, “अब निकै सहज हुने भएको छ ।”

प्रतिक्रिया दिनुहोस्