७ जेष्ठ २०८१, सोमबार
खेलकुद मुख्‍य समाचार

क्रिकेट खेलाडीका लागि घोषित रकम दिने सरकारको निर्णय

२७ वैशाख, काठमाडौं ।राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई नेपाल सरकारले जनही १३ लाख रुपैयाँ प्रदान गर्ने भएकोछ ।

मन्त्री परिषदको बैठकले बिहीबार २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्री परिषदले अनुमोदन गरेसँगै १९ औं एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका हुन् ।

गत नोभेम्बरमा घरेलु मैदानमा आईसीसी टी२० विश्वकप एसिया क्षेत्र फाइनलमा पुग्दै दोस्रो भएको नेपाल क्रिकेट टिमले कुल २ करोड ४ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।

१५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार पाउनेछन् ।

१९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्नेछिन् । प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार, सहायक प्रशिक्षकहरू छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवास गोपाल वैद्याले १ लाख ९५ हजार प्राप्त गर्नेछन। एसियन गेम्समा रजत विजेता कराते टिमले कुल २५ लाख ३५ हजार प्राप्त गर्नेछन् ।

एसियाली खेलकुदमा नै कबड्डीमा कास्य जित्ने नेपाली राष्ट्रिय महिला कबड्डी टिमका १२ खेलाडीले जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णु दक्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही १ लाख ३० हजार प्राप्त गर्नेछन् । यसरी कबड्डी टिमले कुल ४८ लाख दश हजार नगद प्राप्त गर्नेछन् ।

यसैगरी चौथो एसियाली पारा खेलकुद २०२२ मा कास्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख प्राप्त गर्नेछिन् । प्रमुख प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार प्राप्त गर्नेछन् ।

लामो समयदेखि सरकारले घोषणा गरेको पुरस्कार प्रदान गर्न खेलाडीहरूले बारम्बार गरेको अनुरोधलाई प्रमुख एजेन्डा बनाएर यसको लागि धैरै मिहिनेत गर्न परेको युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बताए । यसको लागि मन्त्री श्रेष्ठले अर्थ मन्त्रालय र नेपाल सरकारलाई लाई पनि धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्