७ जेष्ठ २०८१, सोमबार
मुख्‍य समाचार राजनीति

कोशीमा २ दिनभित्र नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

२६ वैशाख, काठमाडौं । कोशीका प्रदेश प्रमुख परशुराम खापुङले दुई दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् ।

मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत नलिएकाले उनी पदमुक्त भएको निष्कर्ष निकाल्दै प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (५) अनुसार प्रदेशसभामा विश्वासको  मत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई वैशाख २८ गते अपरान्ह ५ बजेभित्र मुखयमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।

बुधबार एमाले र माओवादीले दिएको निवेदनका आधारमा प्रदेश प्रमुख खापुङले राति साढे १० बज्न लाग्दा २८ गते शुक्रबार अपरान्ह ५ बजेसम्मको समय दिएर सरकार गठनको आह्वान गरेका हुन् ।

प्रदेशसभामा बहुमत जुटाउनसक्ने कुनै पनि सदस्यलाई मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका हुन् । मुख्यमन्त्री केदार कार्की पनि संविधानको सोही उपधारा अनुसार नियुक्त भएका हुन् ।

उनले गरेको आह्वानमा अनुसार भोलि बिहान दाबी प्रस्तुत गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । उनका अनुसार दिउँसो प्रदेश प्रमुखले सांसदहरुलाई सनाखत गराउने छन् ।

मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि बुधबार दिनभर एमाले र माओवादी नयाँ सरकार गठनको आह्वान गराउन सक्रिय भएका थिए । सोही अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

नयाँ सरकार गठनको आह्वान भएसँगै प्रदेश सभाको दोस्रो कार्यकालमा कोशीमा छैटौं पटक सरकार बन्न लागेको हो। नयाँ सरकार गठन आह्वान गर्ने कि नगर्ने भन्ने विषयमा कोशीका प्रदेश प्रमुख परशुराम खापुङले महान्यायाधिवक्तासँग राय माग गरेका थिए ।

बुधबार एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएका कारण पदमुक्त भइसकेको भन्दै अर्को सरकार गठनको आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख खापुङलाई निवेदन दिएका थिए ।

सत्ता समीकरण फेरिएपछि २६ चैतमा एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका थिए । उनीहरुले ३० दिनभित्र अर्थात २५ वैशाखभित्र विश्वासको मत नलिएका कारण मुख्यमन्त्री कार्की पदमुक्त भएको जिकिर गर्दै अर्को सरकार गठनको आह्वान गर्न माग गरेका थिए ।

 

यसअघि एमालेका हिक्मत कार्की दुई पटक, कांग्रेस नेता उद्धव थापा दुई पटक र कांग्रेसकै केदार कार्की एकपटक मुख्यमन्त्री बनेका छन्। एमाले नेता हिक्मत कार्की यही कार्यकालमा तेस्रो पटक प्रदेशको मुख्यमन्त्री बन्ने भएका हुन्।

प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेसँगै केदार कार्की कामचलाउ मुख्यमन्त्री बनेका छन्। अब नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरू भएसँगै कार्की पदमुक्त बन्नेछन्।

गएको असोज २७ मा कांग्रेसबाट विद्रोह गरेर संविधानको धारा १६८ को उपधारा ५ अनुसार उनी मुख्यमन्त्री बनेका थिए। त्यस बेला उनलाई एमालेले समर्थन गरेको थियो। विश्वासको मत लिने बेलामा उनलाई माओवादी, एकीकृत समाजवादी, जसपाका सांसदहरूले पनि समर्थन गरेका थिए।

फागुन २१ मा प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको सहयात्रा तोडेर एमालेसित गठबन्धन गरेपछि कार्की नेतृत्वको कोशी सरकार संकटमा परेको थियो।

चैत २६ मा एमाले र माओवादी सांसदहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। त्यही दिन विशेष अधिवेशनका लागि प्रदेश प्रमुखसामु समावेदन गरेका उनीहरूले वैशाख ७ मा प्रदेश सभाबाट मुख्यमन्त्रीविरूद्ध संकल्प प्रस्ताव पारित गरेका थिए।

समर्थन फिर्ताको ३० दिन मंगलबार राति १२ बजे सकिएको भन्दै एमाले र माओवादीले बुधबार नयाँ सरकार गठनको माग गर्दै प्रदेश प्रमुखलाई निवेदन दिएका थिए।

नेकपा एमाले र माओवादीले यसअघि नै एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्रीको रूपमा नियुक्त गर्न निर्णय गर्दै प्रदेश प्रमुखसामु सिफारिस गरेका छन्।

गएको असोज २७ मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार केदार कार्की मुख्यमन्त्री बनेयता सरकार बन्ने र ढल्ने क्रम रोकिएको थियो। अन्यथा वर्ष दिनभित्रका पाँचौं मुख्यमन्त्रीका रूपमा कार्कीले जिम्मेवारी लिनुअघि सरकार बन्ने र ढल्ने रिले दौडले प्रदेश बदनाम बनेको थियो।

२०७९ मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा चुनावपछि २०७९ पुस २४ मा एमाले, माओवादी, राप्रपा र जसपा सहितको सहभागितामा हिक्मत कार्की नेतृत्वमा पहिलो सरकार बनेको थियो।

राष्ट्रपति चुनावमा केन्द्रमा गठबन्धन फेरिएपछि एमाले नेतृत्वको सरकार असार १५ मा ढलेको थियो। त्यस बेला माओवादी र जसपाले साथ छाडेपछि एमाले नेतृत्वमा रहेको एक मात्र प्रदेश सरकार कोशीमा ढलेको थियो।

त्यसपछि कांग्रेस, माओवादी एकीकृत समाजवादी र जसपाको समर्थनमा कांग्रेस नेता उद्धव थापा असार २१ मा मुख्यमन्त्री बने। उनले सभामुखको समेत हस्ताक्षर प्रयोग गरेपछि एमाले सर्वोच्च अदालत पुग्यो।

सर्वोच्चले सभामुखले सरकारलाई समर्थन गर्न नमिल्ने ठहर गरेर साउन ११ मा थापाको नियुक्ति बदर गरिदियो। तर फेरि पनि संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त गर्नु भन्ने अदालतको निर्देश अनुसार थापा साउन १६ मा पुनः मुख्यमन्त्री बने। लगत्तै भदौ २२ मा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका थिए।

असोज २० मा विश्वासको मत पाउन नसकेपछि कार्कीले राजीनामा दिए। त्यसपछि संविधानको धारा १६८ को उपधारा ५ अनुसार असोज २७ मा केदार कार्की मुख्यमन्त्री बने। उनी कांग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्री बन्दा एमालेले सहयोग गरेको थियो। गठबन्धनका दलहरू सरकारमा सहभागी भएपछि एमाले सरकारबाट बाहिरिएको थियो।

गएको फागुन २१ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेससँगको सत्ता सहयात्रा तोड्दै एमालेसँग सहयात्रा थालेपछि प्रदेशमा पनि नयाँ गठबन्धन कार्यान्वयनतर्फ गएको हो।

प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेसगै हालका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा छन्। उनले व्यक्तिले दिएको समर्थन दलले फिर्ता लिन नसक्ने दाबी गर्दै आफ्नै सरकार निरन्तर रहने दाबी गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्