७ जेष्ठ २०८१, सोमबार
अन्तराष्ट्रिय मुख्‍य समाचार

पाँच वर्षपछि युरोप भ्रमणमा निस्किए चिनियाँ राष्ट्रपति

२४ वैशाख , काठमाडौ । चीनका राष्ट्रपति सी जिनपिङ पाँच वर्षपछि युरोप भ्रमणमा गएका छन् । चीन र बेल्जियमबीच आर्थिक तनाव बढिरहेको अवस्थामा चिनियाँ राष्ट्रपति सी युरोप भ्रमणमा निस्किएका हुन् ।

उनी सोमबार फ्रान्स पुगेर समकक्षी इम्यानुअल म्याक्रोँ र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोनडिअरसँग भेट गर्नेछन् । त्यसपछि उनी सर्बिया र हंगेरी जाने कार्यक्रम छ । सर्बिया र हंगेरी रूसलाई सहयोग गरिरहेका मुलुक हुन् ।

चीनका राष्ट्रपति सी तीन उद्देश्यले युरोप भ्रममा निस्किएको विज्ञहरुको मत छ । पहिलो, युरोप र चीनबीच रूस-युक्रेन युद्धपछिको सम्बन्ध सुधार । दोस्रो, आर्थिक तथा सुरक्षासम्बन्धी एजेण्डामा छलफल र तेस्रो सर्बिया र हंगेरीसँग चीनको समेत बलियो सम्बन्ध रहेको सन्देश प्रवाह ।

भूराजनीतिक मामिलाका जानकार म्याट जेरासिमले अलजजिरासँग भनेका छन्, ‘सीले युरोप पुगेर सम्बन्ध सुधारसँगै आर्थिक र सुरक्षा मामिलामा युरोपियन चासोलाई सम्बोधन गर्न खोजेका छन् । सर्बिया र हंगेरीसँग आफ्नो पनि राम्रो सम्बन्ध रहेको सन्देश उनले दिन चाहेका छन् ।’ बेइजिङ र पेरिसले कुटनीतिक वर्षगाँठको ६ दशक समेत मनाउँदैछन् ।

विश्व सुरक्षा मामिलामा दुई युद्धका कारण चुनौती थपिएको अवस्थामा सी युरोपतर्फ निस्किएका हुन् । सीको भ्रमणमा अन्तर्राष्ट्रिय संकटबारे छलफल हुने फ्रान्सका अधिकारीहरूले बताएका छन् । ‘दुई मुलुकबीच अर्न्तराष्ट्रिय संकट, मध्यपूर्व र रूस-युक्रेन युद्धका सवालमा छलफल हुनेछ’, फ्रान्सेली पक्षको भनाइ उद्दृत गर्दै अलजजिराले लेखेको छ।

म्याक्रोँ युरोपको सुरक्षामा सबैभन्दा प्रखर रूपमा अघि सरिरहेका छन् । उनले सीलाई रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध रोक्न दबाबका लागि आग्रह गर्ने अपेक्षा राखिएको छ । यस युद्धले युरोपको अस्तित्वमा चुनौती थपेको म्याक्रोँले इकोनोमिस्टसँगको कुराकानीमा भनेका छन् । ‘यो युद्ध रूसले जितेको अवस्थामा युरोप सुरक्षित हुनेछैन ।

रूस यहीसम्म रोकिन्छ भन्ने के सुनिश्चितता छ ? युक्रेनलाई हमला गरेको रूसले मोल्डोभमा, रोमानिया, पोल्याण्ड वा लिथुआनियालाई उसै छोड्ला र ?’ म्याक्रोँको प्रश्न थियो । यो भेटमा युरोपेली युनियनले युद्धबारे मात्रै नभएर चीनले विद्युतीय सवारी साधनमा दिएको अनुदानले थपेको चुनौतीबारे समेत छलफल गर्नेछ ।

चिनियाँ घरेलु अनुदानले युरोपेली कम्पनीहरूले बजारमा प्रतिस्पर्धा गर्न चुनौती थपिने भएकाले यसमा छलफल हुने भएको हो । सी युरोप जानुअघि विदेश मन्त्रालयका प्रवक्ता ली जिआनले युरोपसँग रणनीतिक तथा आर्थिक साझेदारीका लागि रचनात्मक छलफल हुने बताएका थिए । ‘हामी फ्रान्स र समग्र युरोपसँग रणनीतिक साझेदारीको पक्षमा छौँ ।

आपसी हित तथा विश्व शान्तिका लागि दीर्घकालीन सहकार्यको प्रस्ताव सहित राष्ट्रपति भ्रमणमा निस्किनुभएको छ’, उनले भनेका थिए । सोमबार म्याक्रोँले समकक्षी सी र चिनियाँ फर्स्ट लेडी पेङ लीयुआनलाई राजकीय भोजमा सरिक गराउनेछन् । त्यसपछि मंगलबार उनले हिमाल दृश्यावलोकनका लागि लाने कार्यक्रम छ । त्यसपछि उनी सर्बिया पुग्नेछन् । सर्बिया युरोपेली युनियनको सदस्य राष्ट्र भने होइन ।

सर्बियामा चीनको ठूलो लगानी रहेको छ । मे ८ मा सीले हंगेरीको बुडापेस्ट पुगेर युरोपको यात्रा अन्त्य गर्नेछन् । उनले त्यहाँ राष्ट्रपति भिक्टर ओरबानसँग भेट गर्नेछन् । हंगेरीले लिएको नीतिबारे युरोपेली युनियनका सदस्यहरूले प्रश्न उठाइरहेका छन् ।

मस्को र बेइजिङसँग हंगेरीको हिमचिमबारे प्रश्न उठ्ने गरेको छ । अझ उसले सुरक्षा सहकार्य सम्बन्धमा मस्को र बेइजिङसँग सहमति गरेपछि युरोपेली युनियनमा हंगेरीप्रति असन्तुष्टि बढ्दै आएको छ । हंगेरी बीआरआईमा समेत संलग्न राष्ट्र हो ।

युरोप भ्रमणका दौरान मानवअधिकारका सवालमा पनि छलफल हुनेछ । करिब १० लाख तिब्बती बालबालिका शिक्षाबाट बञ्चित भएको उइगुर समुदायप्रति दमन भएको लगायतका विषयमा पनि छलफल गर्ने तयारी युरोपेली आयोगको छ । विशेषगरी रूस युक्रेन युद्ध रोक्नका लागि थप पहल लिन म्याक्रोंले दबाब दिनसक्ने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्