७ जेष्ठ २०८१, सोमबार
अर्थ मुख्‍य समाचार

इन्टरनेट सेवामा ‘ख्यालठट्टा’, ठगिए प्रयोगकर्ता

२१ बैशाख , काठमाडौं । कर बक्यौता विवादले नेपालको इन्टरनेट सेवा विहीबार ४ बजेपछि शुक्रबार रातिसम्म अवरुद्ध हुँदा लाखौं नेपाली सेवाबाट बन्चित भए । वर्ल्ड लिंक, सुबिसु, भायानेट सहितका इन्टरनेट सेवा प्रदायकहरुले सामाजिक सञ्जालमार्फत इन्टरनेट सेवा अवरुद्ध भएको र समस्या समाधान गर्ने प्रयास जारी रहेको बताइरहँदा इन्टरनेटका माध्यमबाट कारोबार गरिरहेका व्यवसायीहरु मारमा परे ।

अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकले आपूर्ति नियमित गरेसँगै अवरुद्ध इन्टरनेट सुचारु त भएको छ तर सरोकारवालाहरुको लावरवाहीले पुनः अवरुद्ध हुने जोखिम भने कायम छ । नेपालमा प्रमुख इन्टरनेट सेवा प्रदायकले एयरटेल, टाटा, रिलायन्सलगायत कम्पनीलाई आयात गरेको ब्यान्डविथ बापतको तीन अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

सेवाग्राहीले महंगो शुल्कसँगै कर बुझाए पनि सेवा अवरुद्ध हुँदा सम्बन्धित निकाय गैरजिम्मेवार बनेको आरोप लाग्न थालेको छ । नेपालका प्रमुख इन्टरनेट सेवाप्रदायकको इन्टरनेट डाउन हुँदा १८ लाख घरपरिवारका ९० लाख ग्राहक प्रभावित भएको इन्टरनेट सेवाप्रदायकहरुको संस्था (आइस्पान)ले जनाएको छ । कुल इन्टरनेटका ग्राहकमध्ये ७२ प्रतिशतको घरमा इन्टरनेट डाउन भएको आइस्पानले जनाएको छ ।

भारतबाट ब्याण्डविथ आउन बन्द भएका कारण नेपालमा इन्टरनेट डाउन हुँदा करिब ९० लाख ग्राहक प्रभावित भएको आइस्पानका अध्यक्ष सुधीर पराजुलीको भनाइ छ ।
उनका अनुसार हाल १ करोड २५ लाख इन्टरनेटका कुल ग्राहक मध्ये एउटा घरमा औषतमा ५ जनाले इन्टरनेट चलाउने भन्ने तथ्यांक नेपाल दूरसञ्चार प्राधिरणले निकालेको छ ।

प्राधिकरणको उक्त तथ्यांक अनुुसार हाल निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायको ग्राहक संख्या १ करोड १३ लाख पुगेको छ । तर ति ग्राहकहरुलाई वेवास्ता गर्दै सेवा नै अवरुद्ध हुने अवस्था निम्ताएकोप्रति जनस्तरबाट विरोध भइरहेको छ । सेवाप्रदायकहरुले सरकारको खेलाँचीले इन्टरनेट काटिएको बताएका छन् । सरकारले भने कम्पनीहरुले उपभोक्ताबाट कर उठाएको तर राज्यलाई नबुझाएको स्पष्ट पारेको छ ।

यही वैशाख १२ गते नेपालमा व्याण्डविथ उपलब्ध गराउने भारतीय कम्पनी एयरटेलले ३० मिलियन डलर (करिब ४ अर्ब रुपैयाँ) भुक्तानी गर्न बाँकी रहेकोले उक्त पैसा नतिरेका कारण जतिबेला पनि इन्टरनेट काटिने पत्र पठाएको थियो । उक्त पत्र पठाएको भोलिपल्टै आइस्पानले पत्रकार सम्मेलन गरेर भुक्तानी रोकिएका कारण जतिबेला पनि इन्टरनेट काटिन सक्ने भनेको थियो ।

सेवाप्रदायकले समस्या देखाउँदा र भारतीय कम्पनीले इन्टरनेट काटिन सक्ने चेतावनी पटक पटक दिँदासमेत सरकारले वेवस्था गरेको उनीहरुको आरोप छ । सरकारले भने कर नतिरेको भन्दै इन्टरनेट सेवा प्रदायकहरूलाई विदेशी मुद्रा भुक्तानका लागि सिफारिस गर्न रोक लगाएको थियो । लामो समयदेखि यो समस्या समाधानका लागि वर्ल्ड लिंकलगायतले सरकारलाई अनुरोध गर्दै आएका थिए ।

हालको चुनौती भोग्नुपर्ने भन्दै महिनौँदेखि सरकारलाई आग्रह गर्दासमेत सुनुवाइ नभएपछि बिहीबार यस्तो समस्या एक्कासी देखा परेको सेवाप्रदायक कम्पनीहरुको दाबी छ ।
तत्काललाई समस्याको समाधान भएको भए पनि सरकारले दाबी गर्दै आएको मर्मतसम्भार शुल्कको कर बक्यौता सम्बन्धी विवाद झनै लम्बिने देखिएको छ ।
बिहीबार साँझमात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत उपभोक्ताबाट अग्रिम संकलन गरेको महसुल कानून बमोजिम सरकारलाई बुझाउनै पर्ने अडान गरेसँगै विवाद लिम्बने देखिएको छ ।

सरकारले बिहीबार विभिन्न कार्यक्रम गरेर सञ्चार तथा सूचना प्रविधि दिवस मनाइरहँदा सोही समयमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको हो । मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै इन्टरनेटजस्तो अत्यावश्यक सेवा अवरुद्ध हुनेगरी कुनै काम नगर्न नगराउन सेवा प्रदायक निकायहरुलाई आग्रह गरेको थियो ।

तर सेवा अवरुद्ध हुँदा व्यवसायी र राज्यले करोडौं गुमाउनुपर्ने अवस्था आएको व्यवसायीहरुको भनाइ छ । आम उपभोक्ताबाट अग्रिमरुपमा संकलन गरेको महशुलबाट कानुनबमोजिम राज्यलाई तिर्न बुझाउनु पर्ने ग्रामीण दूरसञ्चार विकास शुल्क तथा रोयल्टी रकम समयमा नबुझाइ अत्यावश्यक सेवा अवरुद्ध गराउनु उपभोक्तामाथि अन्याय भएको आरोप लागिरहेको छ ।

नेपालमा एयरटेबाट ८० प्रतिशत र टाटाबाट २० प्रतिशत इन्टरनेट आउँछ । मुख्य आधार एयरटेलकै भएका कारण २० प्रतिशतले अहिलेको बजारलाई नधानेका कारण सबैजसो प्रमुख सेवाप्रदायकको इन्टरनेट डाउनहुन पुगेको बताइन्छ । नेपालमा हाल दैनिक १.५ टेराबिट प्रति सेकेण्ड इन्टरनेट खपत हुन्छ ।

प्रतिक्रिया दिनुहोस्