२ जेष्ठ २०८१, बुधबार
मुख्‍य समाचार राजनीति

सुहाङलाई साढे ३ हजार मतको अग्रता, डम्बरलाई पछ्याउँदै डकेन्द्र

१७ वैशाख, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता अन्तर बढाउँदै लगेका छन् ।

फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकाका सबै वडा र माङसेबुङ वडा नम्बर १ को मत गणना सकिँदासम्म नेम्वाङ साढे ३ हजार मतले अगाडि छन् ।

नेम्वाङले ११ हजार ७८ मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काले ७ हजार ३२४ मत ल्याएका छन् ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ६ हजार ९०१ मतसहित तेस्रो स्थानमा छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ५१२ मत पाएका छन् ।

एकीकृत समाजवादीका जितबहादुर राईले २ सय ६० मत पाएका छन् । मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बुले २ सय ३० र जनमतका प्रेमकुमार थाम्सुहाङले ६५ मत पाएका छन् ।

डाकप्रसाद गौतमले १ मत पाएको निर्वाचन आयोगले जनाएको छ । इलाम नगरपालिका-७ इलाम घर भएका गौतम स्वतन्त्र उम्मेदवार हुन् । उनले महिला चुनाव चिन्ह पाएका थिए ।

१० मत पनि नकटाउने उम्मेदवार ५ जना रहेको आयोगले जनाएको छ ।

इलाम-२ मा तत्कालीन प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा १९ जना उम्मेवार मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्