२ जेष्ठ २०८१, बुधबार
प्रदेस समाचार लुम्बिनी समाज

दाङ आगलागी घटनाप्रति सञ्चारमन्त्रीद्वारा दुःख व्यक्त

१७ वैशाख, दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेकी छन् । हाडबासमा आइतबार आगलागी हुँदा २४ घर र १० गोठ जलेका थिए ।

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मन्त्री शर्माले सो घटनाप्रति दुःख व्यक्त गर्दै पीडाको क्षणमा घरबारविहीन पीडित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि जुट्न सबैलाई आह्वान गरेकी हुन् ।

गर्मीयाम सुरु भएसँगै आगलागी र डढेलोका घटना बढिरहेको, दिनहुँ जनधनको क्षति भइरहेको र नागरिकका घर, पशुपन्छीलगायतका निजी सम्पत्ति, अन्नबालीसहित वन जङ्गल तथा जैविक विविधतामा क्षति पुगिरहेको उल्लेख गर्दै मन्त्री शर्माले सबै पक्षलाई गम्भीर हुन प्रेस विज्ञप्तिमार्फत आग्रह गरेकी हुन् ।

नेपाल सरकारले मन्त्रिपरिषद् बैठकबाट आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यून गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिइसकेको मन्त्री शर्माले उल्लेख गरे । क्षति न्यूनीकरणमा सुरक्षाकर्मीसहित तीनै तहका सरकारले गम्भीतापूर्वक काम गरिरहेको उनको भनाइ छ ।

आगलागी र डढेलो मानवीय कमजोरीबाट सिर्जित विपत् भएकाले यसबाट बच्न उच्च सतर्कता र सावधानीको विकल्प नभएको स्पष्ट गर्दै मन्त्री शर्माले आगलागी तथा डढेलोको जोखिम कायमै रहेकाले उच्च सतर्कता र सावधानी अपनाउँदै क्षति न्यूनीकरणमा जुट्न सबैमा अनुरोध गरे।

आगलागी र डढेलोबाट थप क्षति हुन नदिन सचेतनामूलक अभियान सञ्चालन गर्न समेत उनले आम सञ्चारका माध्यमसहित सबैलाई आग्रह गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्