२७ बैशाख २०८१, बिहीबार
प्रदेस समाचार मुख्‍य समाचार राजनीति लुम्बिनी

लुम्बिनीका मुख्‍यमन्त्रीलाई विश्वासको मत लिनुअघि सहमति कार्यान्वयन गर्न दबाव

३० चैत, बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनु अगाडि एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले मन्त्री बनाउने सहमति कार्यान्वयन गर्न दबाब दिएका छन् ।

सरकार गठन हुँदा नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने अर्थात एउटा मन्त्रालय दिने सहमति भएको थियो । तर, मुख्यमन्त्रीले सहमति कार्यान्वयन नहुँदै विश्वासको मत लिन थालेको भन्दै एकीकृत समाजवादीले सहमति कार्यान्वयन नहुँदासम्म विश्वासको मत दिन नसकिने अडान राखेको पार्टीका प्रदेश सचिव सुदन खनालले बताए ।

उनका अनुसार लुम्बिनी प्रदेशमा नेकपा एकीकृत समाजवादीबाट भगवती अधिकारी मात्रै प्रदेशसभा सदस्य छन् ।

‘लिखित सहमतिमा एउटा मन्त्रालय दिने उल्लेख छ तर अहिले स्वतन्त्र सांसद बस्नेत र हाम्रो माननीयलाई एउटा मन्त्रालयमा आलोपालो मन्त्री बनाउने भन्ने कुरा गरिएको छ’ खनालले भने, ‘यो सहमतिको उल्लंघन र हामीलाई अल्मलाउने कुरा हो, हामी मान्दैनौं ।’

यसैगरी नागरिक उन्मुक्ति पार्टीले दुईवटा मन्त्रालय नदिए विश्वासको मत नदिने अडान दोहोर्‍याएको छ । पार्टी संसदीय दलका प्रमुख सचेतक राजकुमार चौधरीले आफूहरूलाई दुई मन्त्रालय दिनु पर्ने लिखित सहमति गर्नु पर्ने बताए ।

उनले भने, ‘हामीलाई दुई मन्त्रालय दिने लिखित सहमति गर्नुपर्छ र मात्रै विश्वासको मत दिन सकिन्छ । एउटा भौतिक पूर्वाधार मन्त्रालय र अर्को जुन भए पनि हुन्छ, मन्त्रालय दिने सहमति नगरे हामी विश्वासको मत दिँदैनौं ।’

मुख्‍यमन्त्री महराले आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

महरा गत चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । महरालाई नेकपा एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एकीकृत समाजवादीका एकजना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थन छ । प्रदेशसभाका ८७ सांसदमध्ये बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्