७ जेष्ठ २०८१, सोमबार
मनोरन्जन मुख्‍य समाचार

द्वन्द्व, शान्ति र विकासमा पीएचडी गर्दै निशा अधिकारी

२० चैत, काठमाडौं । अभिनेत्री निशा अधिकारी ‘ब्युटी विथ ब्रेन’ पनि हुन् । अभिनयसँगै सञ्चारकर्मको पनि लामो अनुभव उनीसँग छ । अध्ययनशील अभिनेत्रीको कोटीमा पर्ने निशा बेलाबखत विभिन्न कारणले पनि चर्चामा आउँछिन् ।

यतिबेला उनलाई लिएर नयाँ खबर छ । उनी विद्यावारिधिको तयारीमा जुटेकी छन् । त्रिभुवन विश्वविद्यालयमा आफूले द्वन्द्व, शान्ति र विकास विषयमा पीएचडी गर्न लागेको खबर उनले सामाजिक संजालबाट दिएकी छन् ।

फोटो सेयर गर्दै उनी लेख्छिन्, ‘मेरो पीएचडीको यात्रा सुरु गर्ने समय । जीवनको यो क्षणसम्म मलाई मार्गदर्शन गर्ने मेरो परिवार र सबै शिक्षकलाई धन्यवाद । संकायका सदस्यलाई पनि धन्यवाद । कक्षामा उपस्थित हुन अधैर्य छु । सेवा गर्ने प्रबल इच्छा बोकेर आफूलाई स्तरोन्नति गर्ने यो यात्रामा लाग्दैछु । मलाई आशिष दिनुहोस् । द्वन्द्व, शान्ति र विकास ! धेरै उत्साहित !’

पीएचडी गर्ने निशाको यो पोस्टलाई सामाजिक सञ्जालमा धेरै शुभकामना मिलिरहेको छ । केकी अधिकारी, नीति शाह, लेखक कर्ण शाक्य लगायतले पनि शुभकामना दिएका छन् । ‘मिसन पैसा’बाट अभिनयमा डेब्यू गरेकी उनको पछिल्लो फिल्म ‘जय हो’ थियो ।

प्रतिक्रिया दिनुहोस्