६ जेष्ठ २०८१, आईतवार
अर्थ बैंक–वित्त मुख्‍य समाचार

नक्कली बिल र स्टिकरको अनुगमन गरी आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

१८ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज आयोजित राजस्व वृद्वि तथा चुहावट नियन्त्रणसम्बन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीलाई प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएका हुन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘राजस्व चुहावट र अवैध व्यापारिक कारोवारमा हुने ‘सेटिङ’ भत्काउने कार्यलाई प्राथमिकता दिनूहोस्, झुटा तथा नक्कली बिल बीजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको छ । त्यसको अनुगमन गर्नूस् र एक्सन लिनूस् ।’

प्रधानमन्त्री दाहालले नयाँ गतिका साथ काम गर्ने अठोट लिएर सरकार पुनर्गठन गरिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सोही अनुरूप क्रियाशील हुन निर्देशन दिए । उनले भने, ‘सरकारले नयाँ गतिका साथ काम गर्ने अठोट लिएको छ । मुलुकको समृद्धिको बाधकका रूपमा रहेका भ्रष्टाचार, तस्करी र राजस्व छलीलाई निर्ममतापूर्वक हटाउनैपर्छ । जनतामा पैदा गरिएको निरासालाई हटाउनुपर्छ । यसका लागि विगतका परम्परागत प्रशासनिक कार्यशैली, व्यवहार र चिन्तनबाट सम्भव छैन । नयाँ सोचसहित अगाडि बढौँ ।’

आन्तरिक बजारलाई व्यवस्थित तुल्याउँदै बिल लिने–दिने प्रणाली प्रभावकारी बनाउनसमेत प्रधानमन्त्री दाहालले निर्देशन दिए । उनले भने, ‘आन्तरिक बजारमा बिल लिने–दिने प्रणाली प्रभावकारी भएको छैन । कारोवारलाई आवश्यकताअनुसार प्रविधिमा रूपान्तरण गर्न सकिएको छैन । यस सम्बन्धमा सम्बन्धित राजस्व कार्यालयले नियमित बजार अनुगमन गर्ने र सो को रिपोर्टिङ गर्ने व्यवस्था मिलाउनूहोस् । कर प्रशासनका सबै कार्यलाई पूर्ण प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिनूहोस् ।’

प्रतिक्रिया दिनुहोस्