६ जेष्ठ २०८१, आईतवार
अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

मोबाइल एप र ड्रोनबाट पुष्पवृष्टि गराएर क्यान इन्फोटेक २०२४को उद्‌घाटन

२५ माघ, काठमाडौँ । सूचना प्रविधिको महामेला क्‍यान इन्फोटेक २०२४को उद्घाटन मोबाइल एप र ड्रोनबाट पुष्पवृष्टि गराएर भएको छ ।

राष्ट्रिय सभागृहमा आयोजित क्यान इन्फोटेकको सरकारका प्रवक्ता एवं सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइलको एप थिचेर उद्‌घाटन गरेकी हुन् ।  प्रविधि र संस्कृतिको संयोजन गरेर यसपटक क्यान इन्फोटेकको उद्घाटन गरिएको छ । यसका साथै उद्घटन समारोहमा ड्रोनबाट पुष्पवृष्टि गरिएको थियो ।

क्यान महासंघका अध्यक्ष रञ्जित पोदारले सूचना प्रविधिको क्षेत्रमा विकास भएका नविनतम विकास तथा नवीनतम प्रविधिलाई सरकारले प्राथमिकतामा राख्‍नु पर्ने बताए । उनले सरकारले निजी क्षेत्रलाई पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलमा काम गर्ने वातावरण बनाउनु पर्ने माग गरे ।

उनले भने, ‘सूचना र प्रविको विकासबाट मात्रै नेपालको आर्थिक विकास सम्भव छ। त्यसकारण सरकारले विदेश पलायनबाट रोक्न नीजी क्षेत्रलाई प्रोत्साहन गर्नु पर्छ। यसबारेमा सरकारले पब्लिक प्राइभेट पार्टनरसीप गरेर अगाडि बढ्नुपर्छ।’

मेलामा क्यानका सदस्यका साथै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहेको छ ।

मेलामा प्रविधिमा विकास भएका नयाँ नयाँ अन्वेषणहरु अवलोकनको व्यवस्था गरिएको छ । माघ २९ सम्म चल्ने इन्फोटेक २०२४ लाई एस पावर बीपीईले शीर्ष प्रायोजन गरेको छ । क्यान इन्फोटेक अवलोकनका लागि सर्वसाधारणलाई १०० र विद्यार्थीलाई ५० रुपैयाँ शुल्क तोकिएको छ । टिकट इसेवाबाट खरिद गर्न सकिने छ ।

६ वर्षदेखि क्यान महासघ नेपालले लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा नेपालभरका जेहेनेदार तथा विपन्न विद्यार्थीलाई बीएस्सी आईटी डिग्रीका लागि प्रत्येक वर्ष २ करोडको छात्रवृत्ति दिँदै आएको छ । यो छात्रवृत्ति यस वर्ष क्यान इन्फोटेकको पहिलो दिन सो छात्रवत्ति घोषणा हुनेछ ।

नेपाल रोबोटिक्स एकेडेमीले क्यान महासंघसँगको सहकार्यमा क्यान इन्फोटेकमा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम कान्छी रोबटको बेटा संस्करण सार्वजनिक हुनेछ । यस पटकको क्यान इन्फोटेकमा एनपी सर्ट र सीएसआरआईको पहलमा साइबर सेक्युरिटी हेल्प डेस्कसमेत सञ्चालन गरिनेछ ।

सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य सरकारका साथ विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा समार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहनेछ।

क्यान इन्फोटेकमा ब्रान्डिङ, आईसिटी एसेसरिज प्रडक्ट लन्चिङ, सिआईटी करियर काउन्सिलिङ, स्टार्टअप तथा इनोभेसन पेभिलियन, सफ्टवेयर पेभिलियन व्यवस्था गरिएको क्यान महासंघका अध्यक्ष रञ्जीत पोदारले बताए ।

यसपटक पनि नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्द्धन गरिने महासंघले जनाएको छ । इन्फोटेकमा नेपालमै अनुसन्धान र विकासमार्फत तयार भएका प्रडक्ट र सोलुसनलाई प्राथमिकता दिइने क्यान महासंघका महासचिच चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

यसअन्तर्गत इनोभेटिभ तथा स्टार्टअप पेभिलियनका लागि नेपाली स्टार्टअपलाई निःशुल्क स्टल व्यवस्था गरिनेछ । क्यान इन्फोटेक करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा आयोजकको छ।

क्यान इन्फोटेकको शीर्ष प्रायोजकमा एस पावर, सहयोगी प्रायोजकमा एचएमसी÷दहुआ, प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेसन फाउन्डेसन, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरमा इन्फोडेभलपर्स प्रालि र मर्कन्टायल अफिस सिस्टम रहेका छन्। त्यस्तै, सिल्भर स्पोन्सरमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी प्रालि), इन्सेसेन्ट रेन प्रालि, हिमकम/एनटेक र पिएनवई रहेका छन्।

प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा, इन्टरनेट पार्टनरमा डिसमिडिया नेटवर्क, इनोभेसन पार्टनरमा एड्रेसग्राफ नेपाल, इन्स्योरेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, ट्रेडिङ पार्टनरमा ब्रोडवे इन्फोसिस, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेसन पार्टनरमा पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) रहेका छन्।

फुड एन्ड बेभरेज पार्टनरमायाकेट बार एन्ड इभेन्ट्स प्रालि, भर्चुअल एक्जिबिसन पार्टनरमा मण्डला सिस्टम प्रालि, स्मार्ट गेट पार्टनरमा बारकोट नेपाल, सिसीटिभी पार्टनरमा एचएमसी÷दहुआ र एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रालि रहेका छन्।

प्रदर्शनीलाई सफल पार्न देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, उद्योग वाणिज्य महासघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), सुबिसु केबलनेटलगायतका संस्थाले सहयोग गरेका छन्। त्यस्तै, अन्तर्राष्ट्रिय रूपमा असोसियो सियो र टिओए सफ्टवेयर कर्प सहकार्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्