११ श्रावण २०८१, शुक्रबार
मनोरन्जन मुख्‍य समाचार

मेनुकालाई घरमा भव्य स्वागत, मेचीपुल हुँदै आइपुगिन् नेपाल

२२ माघ, काठमाडौं । इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेललाई नेपालमा भव्य स्वागत गरिएको छ । पूर्वको मेचीपुल हुँदै सोमबार नेपाल आइपुगेकी उनलाई त्यहाँ नेपाली सर्वसाधारणदेखि संघसंस्थाले स्वागत गरे ।

उनलाई भारत सीमावर्ती काँकडभिट्टामा नेपालीले फूलमालाले स्वागत गरेका थिए । झाँकी र र्‍यालीसहित गाडीमा चढाएर उनलाई नगर परिक्रमा गराइएको थियो ।

धुलाबारी, चारअली हुँदै विर्तामोड र अर्जुनधारामा उनलाई परिक्रमा गराउँदा स्थानीयले पुष्पगुच्छा र फूलमालाले उनको स्वागत गरे । गृहनगर चारअलीमा आयोजित विशेष कार्यक्रममा पनि स्वागत तथा सम्मान गरियो ।

उक्त समारोहमा मेनुकाले सबैलाई धन्यवाद दिइन् । नेपाली कलाकारको प्रतिनिधित्व गर्दै अभिनेता विल्सनविक्रम राई तक्मे बुढाले मेनुकालाई सम्मान प्रदान गरे । उनी गृहनगर आउँदा सर्वसाधारण बाटोमा माला लिएर प्रतिक्षा गरिरहेको बताइएको छ ।

इण्डियन आइडलको सिजन १४ को अन्तिम १० बाट मेनुका आइतबार बाहिरिएकी थिइन् । उनले शोको क्रममा चर्चित ‘सलार’बाट भारतीय फिल्ममा डेब्यु गरिन् । शोले उनलाई निकै चर्चा दिलायो । उनले अबको एकवर्षसम्म आफू फिल्म, रेकर्डिङ र कन्सर्ट गायनमा ब्यस्त हुने समेत बताएकी छन् ।

झापामा आयोजित स्वागत कार्यक्रममा बोल्दै मेनुकाले आफूलाई नेपाली संगीतले संघर्ष गर्नुपर्छ भनेर सिकाएको बताइन् । उनले यहाँसम्म आइपुग्नु नसोचेको सफलता भएको समेत बताइन् ।

‘मलाई एकदमै खुशी लागिरहेको छ । मैले नसोचेको सफलता हो यो । इण्डियन आइडलमा गीत गाउँछु भनेर मात्र भगवानसँग प्रार्थना गरेकी थिएँ । यहाँसम्म आइपुग्नु यो त सोचेको भन्दा पनि ठूलो सफलता हो । जुन हामीले विरलै मात्र प्राप्त गर्न सक्छौं’ उनले भनिन् ।

उनले अघि भनिन्, ‘सलारको गीतपछि अरु फिल्मको पनि गीत गाउने  अफर छ । इण्डियन इन्डष्ट्रिमा राम्रै भैरहेको छ । बलिउडको प्लेब्याक गायनमा पनि हात हालेकी छु भने आफ्नो पनि तयारी गर्छु । टपटेनमा पनि समावेश हुन पाउनु सबैको लागि खुशिको कुरा हो । मेरो मात्र होइन, नेपालको लागि पनि खुशीको कुरा हो ।’

उनले नेपाली संगीतले आफूलाई संघर्ष गर्न सिकाएको बताइन् । ‘यस्तो प्रतिस्पर्धा कुनैपनि प्रतिष्पर्धामा विरलै मात्र पाइन्छ । मेनुका बहिनीले मिहेनत गर्नुपर्छ भन्ने कुरा नेपाली संगीतले सिकाएको हो’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्