६ मंसिर २०८२, शनिबार
खेलकुद समाचार समाज

क्रिकेट : आर्मीलाई हराउँदै पुलिसले जित्यो प्रधानमन्त्री कपको उपाधि

२० माघ, काठमाडौं । नेपाल पुलिस क्लबले अपराजित रहँदै छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ ।

पुलिसले शनिबार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको हो । विजेता पुलिसले १० लाख र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्रिवि क्रिकेट मैदानमा १८२ रनको लक्ष्य पछ्याएको पुलिसले ३७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । पुलिसको जितमा शंकर रानाले ४३ बलमा ५ चौका र ४ छक्कासहित ६२ रनको अविजित इनिङ खेले । जितको लागि ६ रन चाहिँदा उनले कुशल मल्ललाई स्टेटमा छक्का हान्दै खेल अन्त्य गरेका थिए । आरिफ शेख ५४ बलमा १ चौका र १ छक्कासहित २७ रनमा नटआउट रहे ।

पुलिसले ओपनर दीलिप नाथलाई ७ र कुशल भुर्तेललाई १४ रनमै गुमाएको थियो । तेस्रो विकेटका लागि अर्जुन साउद र अमित श्रेष्ठले ५९ रनको साझेदारी गर्दै जित सहज बनाएका थिए । अमित ५१ बलमा २ चौकासहित २८ रनमा आउट भए ।

अमितको ८ रनमा विवेक यादवले क्याच छाडेका थिए । अर्जुन ५८ बलमा ४ चौकासहित ३६ रनमा आउट भए । आर्मीका जितेन्द्र मुखिया, कुशल मल्ल, साहब आलम र बसिर अहमदले १-१ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको आर्मी ४९.५ ओभरमा १८१ रनमा अल आउट भएको थियो । आर्मीका अलराउन्डर विवेक यादवले ८१ बलमा ७ चौका र १ छक्कासहित ६३ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन । तीव्र गतिका बलर सोमपाल कामीले ५८ बलमा १ चौका र १ छक्कासहित ३९ रन बनाए ।

एक समय ६९–७ को अवस्थामा पुगेको आर्मीलाई आठौं विकेटका लागि सोमपाल र विवेक यादवले ५९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । अन्तिम विकेटका लागि विवेकले जितेन्द्र मुखियासँग ४२ रनको साझेदारी गरेका थिए । जितेन्द्र ११ बलमा २ रनमा नट आउट रहे ।

स्पिनर सहयोगी पिचमा आर्मीका शीर्ष र मध्यक्रमका ब्याटर धेरै समय क्रिजमा टिक्न सकेनन् । चोभार एन्डबाट आएका स्पिनर ललितनारायण राजवंशीले शीर्ष तीन ब्याटरलाई आउट गर्दै दबाबमा राखेका थिए । पाँचौं ओभरको पहिलो बलमा ललितले सन्तोष कार्कीलाई ६ रनमा बोल्ड आउट गरे ।

भीम सार्कीलाई अर्को ओभरमा ५ रनमा एलबीडब्लू आउट गरे । सातौं ओभरको अन्तिम बलमा सन्दीप रजालीलाई ललितले शून्यमा बोल्ड आउट गरेपछि आर्मी ७ ओभरमा १९–३ को अवस्थामा पुगेको थियो । दशौं ओभरको तेस्रो बलमा कप्तान विनोद भण्डारी २ रनमा कट एन्ड बोल्ड आउट भए । करण केसीको बलमा उनी क्याच आउट भएका थिए ।

कुशल मल्ल ३२ बलमा २ चौकासहित १७ रनमा आउट भए । उनी सागर ढकालको बलमा एलबीडब्लू आउट भएका थिए । बसिर अहमद दीपेन्द्रसिंह ऐरीको बलमा एज लागेर विकेटकिपर अजुन साउदबाट १ रनमा क्याच आउट भएपछि आर्मी २०.४ ओभरमा ६०–६ को अवस्थामा पुगेको थियो ।

ओपनर इमरान शेख स्वीप खेल्ने क्रममा डीप स्क्वायर लेगमा शंकर रानाबाट २२ रनमा क्याच आउट भए । उनले ६६ बलमा १ चौका र १ छक्का हाने ।

पुलिसका स्पिनर ललितनारायण राजवंशीले १० ओभरमा २ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ९ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । सागर ढकाल, करण केसी र कुशल भुर्तेलले १–१ विकेट लिएका थिए ।

प्रधानमन्त्री कपको उपाधि पुलिसले तेस्रो पटक जितेको हो । यसअघि सन् २०१७ मा आर्मीसँग संयुक्त रुपमा बाँडेको थियो र २०१९ मा उपाधि जितेको थियो ।

पुलिस लिग चरणमा सबै ९ खेलमा विजयी भएको थियो । आर्मीले भने प्रधानमन्त्री कपमा लगातार छैटौं पटक फाइनल खेलेको हो । आर्मीले २०१७ मा पुलिससँग बाँडेको थियो । २०२१ मा उपाधि जितेको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected