१२ श्रावण २०८१, शनिबार
मनोरन्जन मुख्‍य समाचार

चैतमा निफको सातौं संस्करण, ४० देशका ८८ फिल्म देखाइने

२ माघ, काठमाडौं । नेपाल अन्तर्रास्ट्रिय चलचित्र महोत्सव (निफ) को सातौं संस्करण चैतको १ देखि ५ गतेसम्म हुने भएको छ ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा निफको सातौं संस्करण हुन लागेको हो । संस्करणमा समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मीका रोचक र अर्थपूर्ण छलफलका सत्र पनि सञ्चालन हुने बताइएको छ ।

६० देशबाट प्राप्त ५ सय बढी चलचित्रबाट निफले सातौं संस्करणमा ४० देशका ८८ वटा फिल्म छानेको नेपाल अन्तर्रास्ट्रिय चलचित्र महोत्सव आयोजक समितिका अध्यक्ष के.पी पाठकले बताए । उनका अनुसार छनौटमा परेका थुप्रै चलचित्रहरु कान्स, लोकार्नो, बर्लिनाल आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेको बताए ।

फेस्टिभललाई राष्ट्रिय अन्तर्राष्ट्रिय दुई भागमा विभाजन गरी, दुवै भागमा फिचर चलचित्र, लघु फिल्म र वृत्तचित्र विधामा अवार्ड वितरण गरिने बताए ।

उनले भने, ‘हामीलाई हरेक वर्ष सहभागी हुने देशको संख्या पनि बढीरहेको छ । सहभागी हुने चलचित्रको संख्या पनि बढेको छ । हामीलाई ५ दिनमा फेस्टिबल सक्न हम्मेहम्मे परिसक्यो । आगामी दिनमा ५ दिनमा फेस्टिबल गर्न नसक्ने अवस्थामा छौँ ।’

प्रतिष्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तक्रियाका कार्यक्रम पनि आयोजना गरिने आयोजकले बताएको छ ।

यसवर्ष महोत्सवमा प्रदर्शन हुने चलचित्र क्युएफएक्स सिनेमाका शाखाहरु सिभिल मल, लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन् ।मोफसलमा पहिलो संस्करण सम्पन्न गरेको निफले यो सालबाट एकै समयमा अन्य प्रदेशहरुमा पनि महोत्सवलाई बिस्तार गर्ने तयारी गरिरहेको अध्यक्ष पाठकले बताए ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड प्रदान गरिने बताइएको छ ।महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउण्ट एभरेष्ट अवार्ड, र सर्वोत्कृष्ट लघु चलवित्रलाई ५ सय राशिको बागमती अवार्ड प्रदान गरिनेछ ।

यसैगरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

सर्ट फिल्ममध्येवाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्