२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति

ट्रंकलाइन विवादमा उद्योगको लाइन काट्नु गलत : केपी ओली

८ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुल नतिरेको नाममा उद्योगको लाइन काट्न नहुने बताएका छन् ।

आइतबार एमालेको झुलाघाट चिवाभञ्ज्याङ संकल्प यात्राबारे जानकारी दिन आयोजित कार्यक्रममा ओलीले उद्योगी व्यवसायीले आफूलाई पनि ज्ञापन पत्र दिएको भन्दै यो विषय उठाएका हुन् ।

उनले डेडिकेटेड फिडर र ट्रंकलाइन जोडे पनि त्यस अनुसार विद्युत नदिएको तर महसुल मात्र बढी लिएको भन्दै त्यो गलत भएको बताए ।

‘यो सरकारले बुझ्न के पर्‍यो भने डेडिकेटेड, ट्रंकलाइन जोडेर विद्युत आपूर्ति गरेको छ भने आपूर्ति गरेको जति महसुल लिनुस्, लाइन जोडेको छ विजुली दिएको छैन भने केको पैसा उठाउने ?’ ओलीले प्रश्न गरे ।

अहिले उद्योगी व्यवसायी आर्थिक समस्याका कारण तड्पिरहेको भन्दै भन्दै अध्यक्ष ओलीले भने, ‘आफैं बन्द हुँदैछन्, झन् लाइन काटेर उद्योग बन्द गरिदिने ?’

डेडिकेटेड र ट्रंकलाइन विवादलाई संवादमार्फत हल गर्न पनि उनले सरकारलाई आग्रह गरे । ‘लिने दिनेबीचमा संवाद गर्न नसकिने भन्ने छैन, उहाँहरुको संगठन छ, सरकारका निकाय होलान त्यो भन्दा माथि सरकार होला । यीनका विचमा संवाद गरेर । खपत गरेको विद्युतको महसुल लिने’ उनले भने ।

नेपाल विद्युत प्राधिकरणले २०७३ सालअघि लोडसेडिङ हुँदा उद्योगहरुलाई डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत बिजुली आपूर्ति गरेको थियो । यसरी दिएको बिजुलीको महंगो शुल्क लिने गरेको थियो ।

तर उद्योगी व्यवसायीले प्राधिकरणले थाहै नदिई डेडिकेटेड र ट्रंकलाइनको बिजुली जोडेको र महंगो महसुल असुल्न खोजेको भन्दै उक्त समयको महसुल तिर्न अस्वीकार गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणले भने डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिर्ने उद्योगको लाइन काट्ने चेतावनी दिएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा प्राधिकरणले ती उद्योगको लाइन काटेको थिएन ।

केही दिनअघि प्रधानमन्त्री प्रचण्डले पनि त्यस्ता उद्योगको लाइन काट्न निर्देशन दिएपछि उद्योगी व्यवसायीले विरोध गर्दै आएका छन् ।

 

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।