१२ श्रावण २०८१, शनिबार
खेलकुद मुख्‍य समाचार

एनएसएलमा पहिलो जितका लागि वीरगञ्ज र झापा भिड्दै

२२ मंसिर, काठमाडौं । वीरगञ्ज युनाइटेड र झापा एफसी नेपाल सुपर लिग (एनएसएल) २०२३ को नयाँ टोली हुन् । एनएसएलको दोस्रो संस्करणबाट यी दुवैले डेब्यु गरिसकेका छन् ।

शुक्रबार यी दुई टोली एक आपसमा भिड्दा दुवैको एउटै लक्ष्य एनएसएलमा पहिलो जित निकाल्नु हुनेछ ।

वीरगञ्ज र झापाबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आज साँझ ५ बजे सुरु हुनेछ ।

अन्तिम दुई स्थानमा रहेका झापा र वीरगञ्ज दुवैको लागि यो चौथो खेल हुनेछ । तीन खेल खेलिसक्कदा दुवै टोली जितविहिन छन् ।

झापा २ अंकसहित आठौं र वीरगञ्ज १ अंकसहित नवौँ स्थानमा छन् । पहिलो खेलमा स्पोर्टिङ इलामसँग पराजित भएको झापाले त्यसपछि पोखरा थण्डर्स र काठमाडौं रेजर्ससँग बराबरी खेलेको थियो ।

उता वीरगञ्ज धनगढी एफसी र एफसी चितवनसँग पराजित भएको थियो । पछिल्लो खेलमा ललितपुर सिटी एफसँग बराबरी खेल्दै वीरगञ्जले पहिलो एक अंक जोडेको थियो ।

वीरगञ्जले सुरुको तीनवटै खेलमा राम्रो प्रदर्शन गरेपनि जित निकाल्न सकेको छैन । पहिलो दुई खेलमा समान २-१ को हार बेहोरेको वीरगञ्जले पछिल्लो खेलमा ललितपुर सिटीसँग २-२ को बराबरी खेलेको थियो । जारी सिजन एकै खेलमा सर्वाधिक गोल भएको खेल यही थियो । वीरगञ्जको कप्तान तथा मार्कीमा गोलकिपर दिप कार्की छन् भने तेज तामाङ आइकोनिक प्लेअर छन् ।

उता झापा एफसीको मार्कीमा अन्जन विष्ट छन् । तर झापा एफसीलाई चोटले सताएको छ । मिडफिल्डर लकेन लिम्बु लिगअघिदेखि नै घाइते छन् । लिग दौरान थिरज थताली मगर र अन्जन विष्ट पनि घाइते भए । यी तीनैले पछिल्लो खेल थिएनन् । विदेशी खेलाडीले पनि सोचे अनुसार प्रदर्शन गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्