१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

सबै सांसदलाई केन्द्रीय सदस्य बनाउने रास्वपाको तयारी

१३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा सदस्य भएका सबैलाई केन्द्रीय सदस्य बनाउने भएको छ । यस विषयमा मंगलबार मध्यराति सहमति जुटेको एक नेताले बताए ।

रास्वपाका एक नेताले भने, ‘सांसद भएका तर केन्द्रीय सदस्य नरहेका सबैलाई केन्द्रीय सदस्य बनाउने भनेर केन्द्रीय समिति बैठकमा पेस भएको प्रस्तावमा गएराति सहमति भइसकेको छ ।’

रास्वपाको केन्द्रीय समिति बैठक सोमबारदेखि महोत्तरीको जलेश्वरमा जारी छ । आज अन्तिम दिनको बैठकमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रस्ताव पेस गर्ने छन् । त्यसपछि महाधिवेशनको विधि प्रक्रिया, सांसद स्वणिर्म वाग्लेलाई उपसभापति बनाउने र केन्द्रीय सदस्य थप्ने लगायतका निर्णय हुने एक नेताले बताए ।

प्रतिनिधि सभामा रास्वपाका ९ महिला र १२ पुरुष गरी २१ जना सांसद छन् । उनीहरु सबैलाई केन्द्रीय सदस्य बनाउने तयारी छ । रास्वपाको विधानमा १२१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था भए पनि हाल ३८ जना मात्र छन् । केन्द्रीय सदस्यमा सांसदहरु बाहेक अन्य पनि केही थप्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्