२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

गणतन्त्रविरोधी गतिविधि रोक्न आदिवासी जनजाति सम्बद्ध संघसंस्थाहरूको माग

५ मंसिर, काठमाडौं । आदिवासी जनजाति सम्बद्ध संघसंस्थाहरूले सामाजिक सद्भाव कायम राख्दै परिवर्तनको रक्षा गर्न आग्रह गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा विभिन्न १७ वटा आदिवासी जनजाति सम्वद्ध संघसंस्थाहरूले मंगलबार पत्रकार सम्मेलन गरी धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रविरुद्ध भइरहेका गतिविधिमाथि रोक लगाउन माग गरेका हुन् ।

नागरिकको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि भत्काउन पछिल्लो समय केही देशी विदेशी शक्तिहरू लागिपरेको भन्दै उनीहरूले उपलब्धिको रक्षाका निम्ति समयमा सचेत हुन आह्वान गरेको छ । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले गणतन्त्रमाथि कसैले धावा बोले आदिवासी जनजाति समुदायले प्रतिवाद गर्ने बताए ।

नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले पहिचान राष्ट्रिय संघर्ष समिति गठन गरेर प्रदेशस्तरीय कार्यक्रम गरिने बताए । जसअन्तर्गत पहिलो चरणमा मगरात थरुहटको संयुक्त आयोजनामा आगामी मंसिर २३ गते दाङमा र तामाङ घेदुङ र नेवा देय दबूको संयुक्त आयोजनामा आगामी मंसिर ३० गते काठमाडौंमा बृहत् सभाको आयोजना गरिने जानकारी दिए ।

किरात याक्थुम चुम्लुङका प्रेम एक्तेन र नेवा देय दवूका उपाध्यक्ष उमेश स्थापितले प्राप्त उपलब्धिको रक्षाका निम्ति आदिवासी जनजाति समुदाय एकढिक्का रहेको बताए ।

उक्त पत्रकार सम्मेलनमा काठमाडौंको शंखरापुर नगरपालिका–३ बोझेनीमा लप्सीफेदी चाँगुनारायण सवस्टेशन निर्माण गर्ने नाममा प्रहरी प्रशासनबाट शृङ्खलाबद्ध बल प्रयोग भएको भन्दै विरोध जनाइएको छ । आदिवासी जनजाति समुदायले वार्ता र संवादको माध्यमबाट निकास निकाल्न आग्रह गरेका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।