७ जेष्ठ २०८१, सोमबार
खेलकुद

‘वीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, ९ टिमले सहभागीता जनाउने

काठमाडौं, १७ असोज । नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा हुने वीरजङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी महासंघका अध्यक्ष जयनन्द चन्दले प्रतियोगिताको सबै तयारी पूरा भइसकेको बताए । अध्यक्ष चन्दले प्रतियोगितामा ९ वटा टिमले सहभागीता जनाउने पनि जानकारी गराए ।

उक्त प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को मुख्य सहयोग र नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुन लागेको हो । प्रतियोगिता आगामी असोज १८ देखि २१ गतेसम्म काठमाडौंको नयाँबसपार्कस्थित् ढोरपाटन स्पोर्टर्स ट्रेनिङ्ग सेन्टरमा हुने बताइएको छ । वीरजङ्ग नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य थिए ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र किङ्गस क्लब, धौलागिरी रेष्टुरेन्ट सान्धा जापान क्लब, गलकोट स्पोर्ट क्लब, न्युटन चिल्ड्रेन एकेडेमी, त्रिभुवन विश्वविद्यालय आरआर क्याम्पस र आयोजक टिम खेलमा सहभागी हुने आयोजकको भनाई छ ।

प्रतियोगिताको प्रथम पुरस्कार पाँच लाख, द्धितीय पुरस्कार दुई लाख ५० हजार, तृतीय पुरस्कार एक लाख र सान्त्वना पुरस्कार ५० हजार रहेको महासंघले जनाएको छ । साथै, उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट स्पाईकर, बलर, सेटर, सर्भर, डिफेन्डर र क्वीकरलाई जनही पाँच÷पाँच हजार पुरस्कारको व्यवस्था रहेको महासंघले जनाएको छ ।

सहभागी टिम तथा खेलाडीले खाना, बस्नको व्यवस्था आफैं गर्नुपर्ने महासंघले जनाएको छ । साथै, टिम दर्ता शुल्क निःशुल्क रहेको छ । खेल लिगकम नकाउटको आधारमा भलिबल संघ र राष्ट्रिय रेफ्रिहरुको नियमबमोजिम खेलाइने महासंघले जनाएको छ । एक टिमले तीन जनासम्म विदेशी खेलाडी पनि राख्न पाउने महासंघले जनाएको छ ।

नेपाल गणतान्त्रिक खेलकुद महासंघका महासचिव विनोद विक्रम चन्दले वीरजंगको आचरण, क्षमता र योगदानको राज्यले सम्मान गर्नुपर्ने बताए । वीरजंगको मृत्युको कारण पनि राज्य नै भएको उनको आरोप छ । वीरजंगलाई अमर बनाइराख्नुपर्छ भनेर उनकै नाममा प्रतियोगिता आयोजना गरिएको महासचिव चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्