७ जेष्ठ २०८१, सोमबार
मनोरन्जन समाचार

आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड– २०८० काठमाडौंमा हुने, २४ विधामा अवार्ड प्रदान गरिने

८ असोज, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०८० हुने भएको छ ।

सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त अवार्ड राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा असोज ११ गते गरिने जानकारी गराएको हो ।

“ अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन ” भन्ने मुल नाराका साथ सम्पुर्ण कलाकर्मी, संगीतकर्मीहरुको सर्वाङ्गीन विकाश गर्ने उद्देश्यले यो अवार्ड आयोजना गर्न लागीएको प्रतिष्ठानका अध्यक्ष अर्जुन थापा मगरले बताए ।
उक्त अवार्ड २४ वटा विद्यामा वितरण गरिदैछ भने दिर्घ साधना सम्मान लगायत अन्य आठ वटा विभिन्न सम्मानहरु समेत प्रदान गर्न लागीएको जनाएको छ ।

उपत्यका समन्वय समितिले विभिन्न आठ वटा विधामा सम्मानित हुने व्यक्तित्वहरुको नामसमेत सार्वजनिक गरेको छ । जसमध्ये लाईफ टाइम एचिभमेन्ट सम्मान कृष्ण सुधा ढुंगानालाई नगद राशीसहित प्रदान गर्ने बताएको छ ।
त्यसैगरी, संस्थागत श्रष्टा सम्मान राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानलेलाई प्रदान गरिने भएको छ भने लोक गीतको क्षेत्रमा दश वर्षसम्मको योगदान र सफलतालाई सम्मान गर्दै एकनारायण भण्डारीलाई दशक श्रष्टा सम्मान प्रदान गरिने भएको छ ।

लोक संगीतलाई माथि उठाउनका लागि योगदान दिएका राजकुमार रायमाझीलाई लोक पत्रकारिता सम्मान प्रदान गरिने भएको छ भने सदावहार लोक गीतमा ‘बाबरी फूलको बोट’ पाण्डव सुनुवारलाई सम्मान प्रदान गरिने भएको छ ।
त्यसैगरी, लोकदोहोरी कलाकार साँझ सम्मान कृष्ण आँशुलाई र लोकदोहोरी उपत्यका विशिष्ट सम्मान समाजसेवी सपना रोकालाई प्रदान गरिने बताइएको छ । लोकदोहोरी अवार्ड विशेष सम्मान शिव हमाललाई प्रदान गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्