२७ बैशाख २०८१, बिहीबार
जीवनशैली मुख्‍य समाचार समाज स्वास्थ्य

‘आत्महत्याको पछाडि ९५ प्रतिशत मानसिक रोग जिम्मेवार छ’

२५ भदौ, काठमाडौं । वरिष्ठ मनोचिकित्सक प्रा.डा. पुष्पराज शर्माले आत्महत्या सामाजिक, आर्थिक कारणलेमात्रै नभएर जैविक कारण हुने गरेको बताएका छन् । शरीरमा रहेका विभिन्न रशायनहरु तलमाथि भएपछि मानसिक रोगको सिकार हुने बताउँदै उनले आत्महत्याको प्रमुख कारण यही नै रहेको बताएका हुन् ।

आर्थिक अवस्थाले मात्रै मान्छेले आत्महत्या नगर्ने बताउँदै आत्महत्यालाई एउटै कुरासँग जोड्न नमिल्ने बताए । आर्थिक रुपमा उन्नत अवस्थामा रहेका जापन, अमेरिका, युरोप लगायतका मुलुकका नागरिकहरुले पनि आत्महत्या गर्ने गरेको बताउँदै उनले आर्थिक समस्या आत्महत्याको अनेकौं कारणमध्येको एउटा कारण भएको बताए ।

समाजमा भइरहेको परिवर्तनलाई युवा पुस्ताले राम्रोसँग आत्मसात गर्न नसक्दा पनि यदाकदा आत्महत्याको घटना हुने गरेको उनको भनाई छ । आत्महत्याको प्रमुख कारण डिप्रेसन रहेको उनको भनाई छ । उनले डिप्रेसनको उचार सम्भव रहेको बताउँदै उनले आत्महत्या न्युनीकरणका लागि समयमै डिप्रेसनको पहिचान गरी उपचार गर्न आवश्यक रहेको बताए ।

‘रिसर्चका अनुसार आत्महत्याको कारण ७० प्रतिशतभन्दा बढि डिप्रेसनसँग जोडिएको छ । डिप्रेसन एउटा यस्तो मानसिक रोग हो, जसको उपचार गर्न सकिन्छ । डिप्रेसनलाई चाँडै नै पहिचान गरेर यसको उपचार राम्रोसँग गर्नसक्यौं भने धेरै आत्महत्यालाई कम गर्नसक्छौं,’– उनले भने ।

आवेगात्मक आत्महत्या थोरैमात्रामा हुने उनको दाबी छ । आत्महत्या धेरैजसो योजनावद्ध हुने र उक्त योजना घरपरिवार र साथीभाइहरुले पनि पत्ता लगाउन नसक्ने खालका हुने उनको भनाई छ । आत्महत्या न्युनीकरणका लागि मानसिक स्वास्थ्यमा संवेदनशील हुन आवश्यक रहेको उनले बताए ।

मानसिक स्वास्थ्यको पहुँच ग्रामीण क्षेत्रमा पनि पुर्याउन उनले नेपाल सरकार समक्ष आग्रह गरे । नेपालमा बालबालिकामा पनि आत्महत्याको दर बढेको भन्दै चिन्ता व्यक्त गरे । आत्महत्यालाई धेरै हदसम्म न्युनीकरण गर्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्