२६ बैशाख २०८१, बुधबार
जीवनशैली समाज

हजुरबुवा-हजुरआमाबाट टाढा भएर के गुमाउँदैछन् बालबालिकाहरू ?

२५ भदौ, काठमाडौं । विश्वका विभिन्न देशहरुमा सेप्टेम्बर १० मा ग्राण्ड प्यारेन्ट्स डे अर्थात् हजुरबा-हजुरआमा दिवस मनाइएको छ । यो दिवस यस्तो  पुस्तामा समर्पित छ जसले आफ्नो पूरै जीवन परिवारका लागि समर्पित गरिदिए । आफ्ना सन्तान मात्र नभई नातिनातिनाहरुको पनि हेरचाह र लालनपालन गरे, लेखपढ गराए र समय समयमा मार्गदर्शन गरिरहे ।

यद्यपि विश्वका विभिन्न देशहरुले भिन्नभिन्न मितिमा हजुरबा हजुरआमा दिवस मनाउँछन् । तर, अमेरिकालगायतका देशमा सेप्टेम्बर महिनाको पहिलो सोमबार पछिको आउने आइतबार यो दिवस मनाइन्छ सम्बन्ध र उत्सवका रुपमा ।

खासगरी मनाउने मिति फरक भए पनि यसको उद्देश्य भने उदार र समान छ । आफ्ना घर तथा मावली पट्टिका हजुरबुवा हजुरआमाप्रति माया तथा सम्मान दर्शाउनु र अझै निकट ल्याउनु यसको मुख्य उद्देश्य हो । अर्थात् वृद्धावस्थाका अभिभावकहरुलाई सम्मान र माया दिनुका साथै नयाँ पुस्तालाई उनीहरुको महत्वका बारेमा बताउनु र बुझाउनु पनि हो । यसले भविष्‍यमा जोडिने स्नेह र अगाध सम्बन्धले महत्वपूर्ण भूमिका निर्वान गरिरहेको हुन्छ ।

महत्वपूर्ण र प्रगाढ सम्बन्ध

सायद तपाईं हाम्रो जीवनमा आफ्ना हजुरबुवा हजुरआमाको निकै महत्वपूर्ण भूमिका रहेको हुनसक्छ । उनीहरुबाट हामीले संस्कार सिकेका हुन्छौं, कथा कहानीहरु सुनेका हुन्छौं र प्रेरणा लिएका हुन्छौं । उनीहरुबाटै हामीले लेखपढ गर्ने तथा इमान्दार बनेर काम गर्ने शिक्षा लिएका हुन्छौं जसले हाम्रो पेसा व्यवसायमा सहयोग गरेको हुन्छ र हामीले उनीहरुलाई आदर्श मानेका हुन्छौं ।

वास्तवमा बालबालिकाहरुले आफ्ना हजुरबुवा हजुरआमाबाट नि:स्वार्थ प्रेम, भावनात्मक समर्थन तथा सुरक्षा प्राप्त गर्दछौं । यसले बच्चाको विकासको जग राख्नमा अहम भूमिका खेलेको हुन्छ ।

पुरुष

उनीहरूले बच्चाको असल आनीबानीको विकास गर्दछन् र आफ्नो संस्कारसँग पनि परिचित गराउँछन् । आजकल धेरै आमाबुवालाई कामकाजी भएका कारणले गर्दा यस्तो भूमिका निर्वाह गर्नमा समस्या हुने गरेको छ ।

कामकाजी आमाबुवाका कारण अभिभावकत्वको अनुभूति गर्न नपाउने बालबालिकाका लागि त्यो अभाव उनीहरुका हजुरबुवा हजुरआमाले पूर्ति गर्दछन् ।

सम्बन्धमा दूरी

पछिल्ला दिनमा विभिन्न सामाजिक कारणहरुले गर्दा हजुरबा हजुरआमा दिवस मनाउने आवश्यकता बढ्दै गएको छ । अहिले एकल परिवारको चलन बढिरहेको छ जहाँ बालबच्चाहरू आफ्ना आमाबुवासँग मात्रै बस्दछन् र उनीहरुका हजुरबुवा हजुरआमा उनीहरुसँग हुँदैनन् ।

एकल परिवारका विभिन्न फाइदाहरु पनि हुन्छन् । तर हजुरबा हजुरआमा र नातिनातिनाको दृष्टिबाट हेर्दा यस्ता परिवारमा विभिन्न खालका समस्या पनि आइरहेका छन् ।

विज्ञका अनुसार भलै हामीले हाम्रा वृद्ध अभिभावकहरुका भौतिक आवश्यकताहरु पूरा गरिरहेका हुनसक्छौं, तर उनीहरुका भावनात्मक आवश्यकताहरु पनि बुझ्नु पर्दछ ।

वास्तवमा हजुरबुवा-आमाहरुले एक्लोपन महसुस गर्न सक्दछन् । आफ्ना नातिनातिनाहरुमा उनीहरुले आफ्नो साथी पाउँछन् । जब कुराकानी गर्न कोही हुँदैन तब उनीहरुमा सामाजिक अलगावको भावनाका कारण डिप्रेसन पनि हुनसक्छ । बच्चाहरु पनि हजुरबुवा-आमासँग अलग हुनुपर्दा निरास र उदास बन्न सक्दछन् ।

के गर्नुपर्छ अब ?

समाजशास्त्रीहरुका अनुसार बदलिंदो सामाजक, आर्थिक परिवेशको असर हामी, हाम्रा मातापिता तथा बालबच्चा गरी तिनै पुस्तामा परिरहेको छ ।

मानिसहरुलाई आफ्नो काम तथा सामाजिक दायित्वको बीचमा सन्तुलन कायम गर्नमा समस्या भैरहेको छ । उनीहरुले न त आफ्ना आमाबुवालाई समय दिन पाइरहेका छन्, न त सन्तानलाई ।

यस्तो स्थितिमा वृद्ध आमाबुवाको स्वास्थ्यमा पनि असर परिरहेको छ र कहिलेकाहीँ बालबालिकाहरु नराम्रो आनीबानीको सिकार बनिरहेका छन् ।

प्रायः हजुरबुवा-आमा र नातिनातिनाहरु फरक-फरक ठाउँ अर्थात् गाउँ र सहरमा बस्ने गर्दछन् । कहिलेकाहीँ र देश नै फरक पर्दछ ।

यस्तोमा बिदाको समउमा समेत उनीहरुबीच भेट हुन सम्भव हुँदैन । सूचना प्रविधिको विकासका कारण इन्टरनेट र भिडियो कलिङ सम्पर्कका सजिला माध्यम बनेका छन् ।

महिला

तर, यस्तो रिक्तता पूरा गर्नका लागि प्रविधिमा धेरै निर्भर हुनु पनि ठीक होइन । किनकि मानवीय स्पर्शको आफ्नै महत्व हुन्छ, जुन आमने सामने हुँदा नै सम्भव हुन्छ ।

पेसा व्यवसायका कारण आमाबुवाबाट अलग बस्नु परे पनि फुर्सद निकालेर उनीहरुलाई भेट्न जाने वा आफू भएको ठाउँमा बोलाउनु पर्दछ । साथै, आफ्ना बालबच्चाहरु आफैं यात्रा गर्नसक्ने उमेरका भएका छन् भने उनीहरुलाई विदाको समयमा हजुरबुवा-आमासँग भेट गर्नका लागि पठाउनु पर्दछ । यसले तपाईंका आमाबुवा पनि खुसी हुन्छन् र सन्तानहरु पनि ।

विज्ञ भन्छन्, ‘जो कोहीले पनि आफ्ना सन्तानसँगै बुवा आमाको पनि भावनात्मक आवश्यकताहरु बुझ्नुपर्दछ र उनीहरुको पूरा ख्याल गर्नु पर्दछ । बीबीसीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्