२७ बैशाख २०८१, बिहीबार
फिचर (Main Feature) समाज

जहाँ वीपीका नाममा ४० वर्षदेखि कोठा खाली छ

२४ भदौ, चितवन। प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (विपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनकै नाममा खाली छ ।

भरतपुर महानगरपालिका-२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उनकै सम्झनामा खाली राखिएको छ । त्यतिबेला विपी सुत्ने काठको खाट सफा तन्नाले ढाकेर राखिएको छ ।

‘घर बनेपछि यो कोठामा विपी कोइरालाबाहेक अहिलेसम्म कोही पनि सुतेको छैन’, ९० वर्षीया गौरीदेवीले भनिन् । उनका श्रीमान स्व. श्यामकृष्ण प्रधानसँग विपीको निकट सम्बन्धका कारण परिवारको एक सदस्यका रूपमा प्रधान परिवारले उनलाई लिने गरेको थियो ।

२००६ सालमा बन्दीपुरमा प्रधानको विपीसँग चिनजान भएपछि उक्त  सम्बन्ध बाँचुञ्जेलसम्म रहिरह्यो । गौरीदेवीले भनिन्, ‘अरु नेता आउँदा पनि विपीको कोठामा कसैलाई पनि बस्न दिइएन ।’

कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत नेता आउँदा पनि कोहीलाई माथिल्लो तला र कोहीलाई भुइँ तलामा सुत्ने व्यवस्था गरिएको उनी बताउँछिन् ।

‘घर बनेदेखि विपी यही घरमा बस्नुभएको हो’, गौरीदेवीले भनिन् । छतमा मन्दिर भएको घरको अगाडितर्फ दुईतिर ठूला झ्याल भएको पहिलो तलाको खुला कोठामा विपी बस्ने गर्दथे । रातो रङको यो घर २०२६ सालमा निर्माण भएको हो ।

घरको पहिलो तलामा आराम गरिरहेकी गौरीदेवीले भनिन्, ‘विपीबाबुले गिरिजाबाबुलाई भनेको मलाई अहिले पनि सम्झना छ । गिरिजा चिन्यौँ, घरको परिवारजस्तै हो, जहिले पनि यही आएर बस्नु है ।’

गौरीदेवीको मामाको छोरा धर्मभक्त माथेमालाई राणा शासकले मारेकाले उनीमा क्रान्तिकारी जोश भएकाले पनि विपीप्रतिको श्रद्धा बढी भएको हो ।

‘विपी घरमा आएपछि सुरक्षाकर्मीले घरबाहिर घेर्ने गर्थ्यो । कहिले के हुन्छ, थाहा हुँदैनथ्यो’, त्यतिबेलाको सम्झना गर्दै उनले भनिन्, ‘यही घरमा बसेर विपीबाबुले राजनीतिक योजना बनाउनुहुन्थ्यो ।’

विपी कतिपटक घरमा आउनुभयो गौरीदेवीलाई यकिन सम्झना छैन । उनले भनिन्, ‘कति पटक आउनुभयो आउनुभयो । चितवनमा आउँदा होस् वा पूर्वपश्चिम अन्य जिल्लामा जाँदा उहाँ यही बस्नुहुन्थ्यो ।’

विपीले सादा खाना रुचाउने गरेको गौरीदेवी बताउँछिन् । उनले भनिन्, ‘माछामासु खाएको मलाई थाहा छैन, दही, दूध, सादा खाना नै खानुहुन्थ्यो । मैले सोध्ने गर्थेँ, ‘विपीबाबु के खाने ? तपाईँले जे पकाउनुहुन्छ, त्यही खान्छु भन्नुहुन्थ्यो ।’ विपीले थोरै खाना मीठो गरी खाने गरेको उनलाई सम्झना छ ।

जिल्लाभर जहाँ घुमे पनि बेलुका सुत्न विपी यही घरमा आउने गरेको गौरीदेवीले स्मरण गरिन् । साँझ विपी भन्थे, ‘जहाँ घुमे पनि आफ्नै घरजस्तो लागेर यही आउन मन लाग्छ ।’ विपी आउँदा विवाहको घर जस्तै हुने गरेको उनले बताइन् । थोरै खाने र चिटिक्क परेर हिँड्ने विपीको बानी थियो ।

गौरीदेवीले भनिन्, ‘मेरो कान्छी छोरी नम्रतालाई ‘छोरी मेरो कपडामा आइरन गदिदेउ’ भन्नुहुन्थ्यो र चिटिक्क परेर हिँड्नुहुन्थ्यो ।’ तनहुँ र चितवनमा महिला सङ्घको स्थापना गरेकी प्रधानले विपीको उपचारका लागि नारायणगढ बजारमा आर्थिक सङ्कलनसमेत गरिन् ।

उनले भनिन्, ‘मैले बजार घुमेर आर्थिक सङ्कलन गरेँ, म आफूले त दिने नै भएँ, अरुले पनि दिए ।’ विपीसँगै कांग्रेसका शीर्ष नेताको बस्ने थलो यही घर हो । पछिल्ला वर्षमा नेताहरू यो घरमा त्यति पुग्दैनन् ।

विपीको देहवसानपछि देश उँभो लाग्न नसकेको गौरीदेवीको भनाइ छ । उनले भनिन्, ‘कसैलाई पनि कांग्रेस बन्न उत्साह छैन ।’ साराका सारा विदेश जान थालेकामा चिन्ता व्यक्त गर्दै उनले भनिन्, ‘विपी भएको भए, साराका सारा कहाँ विदेश जान्थे, यही काम पाउँथे । विपीजस्तो नेता न कांग्रेसले न देशले नै जन्मायो ।’

प्रतिक्रिया दिनुहोस्