७ जेष्ठ २०८१, सोमबार
समाज

चित्रकलाबाट प्रकृति र मानव चिनाउने थारूको अष्टिम्की

२० भदौ, काठमाडौं । काठमाडौंमा थारु समुदायले हर्षोल्लासपूर्वक आज अष्टिम्की (श्रीकृष्णजन्माष्टमी)पर्व मनाएका छन् । देशका विभिन्‍न भागबाट आई काठमाडौंमा बसोबास गर्दै आएका थारू समुदायले पृथक् शैलीले अष्टिम्की पर्व मनाएका हुन् ।

२३ वटा थारू संघसंस्थाको संयुक्त आयोजनामा काठमाडौंको क्रिष्टल पार्टी प्यालेस बिजुली बजारमा थारू समुदायले हर्षोल्लासका साथ अष्टिम्की मनाएको मूल आयोजक समितिका सदस्‍य नन्दुराम चौधरीले जानकारी दिए ।

उनका अनुसार थारु समुदायका घरमा भगवान श्रीकृष्ण सहित मानव जातिको जन्मदेखि मृत्युसम्मका क्रियाकलाप दर्शाउने चित्र कोरेर पूजा गरेर पर्व मनाइने गरिन्छ । सो अवसरमा घर–घरमा पूजा गर्नका लागि परापूर्वकालदेखि नै चित्र कोर्नुपर्ने चलन चल्दै आएको छ ।

थारु समुदायका घर–घरमा रहेका बैठक कोठामा अष्टिम्कीका अवसरमा मानव जातिको जन्मदेखि मृत्युसम्म गर्ने क्रियाकलापको चित्रको माध्यमबाट देखाउने गरिएको चौधरीले बताए ।

उनले भने, ‘पहिला महिलाले मात्रै मनाउँथे अष्टिम्की। तर अहिले महिला पुरुष दुवै जनाले अष्टिम्कीका अवसरमा चित्र कोर्ने गरेका छन् ।’

कार्यक्रममा कांग्रेस सांसद तेजुलाल चौधरीले थारूहरूको अष्टिम्कीको शुभकामना दिंदै आफ्नै परम्परा, संस्कार र संस्कृति रहेकोमध्‍ये अष्टिम्की पनि ठूलो चाड भएको बताउँदै राज्‍यले यसबारेमा सम्बोधन गर्नुपर्ने बताए । अब पहिचानका लागि राजनीतिक र शैक्षिक क्षेत्रमा पनि माथि उठ्‍ने बेला आइसकेको उनको भनाइ थियो ।

उनले, ‘थारूको संस्कार र चाडबाड ठाउँ अनुसार फरक छ। हामी सबैले आ-आफ्नो ठाउँ अनुसार चाडपर्व र संस्कार मनाउँछौं। त्यसकारण हामी थारू संस्कारमा धनी छौं। तर अब पहिचानका लागि राजनीतिक र शैक्षिक क्षेत्रमा पनि माथि उठ्‍ने बेला आइसकेको छ। यसबारे हामी जाग्नै पर्छ।’

यस्तै थारू कल्‍याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीले अष्टिम्कीले राष्ट्रको पहिचान बचाएको उल्लेख गर्दै सरकारले राष्ट्रिय बिदाको रुपमा स्वीकार गर्नुपर्ने बताए ।

उनले भने, ‘प्रकृति, जीवन र जगतलाई जिउन सिकाउने मानव जातिको सृष्टिको चित्र मार्फत व्‍याख्या गरेर देखाउने कलाभित्र धेर महत्वपूर्ण सूचना लुकेको छ। यसबारे सरकार र राज्‍यले कहिले बुझ्‍ने ? यस्तो महत्वको संस्कृतिलाई राज्‍यले गम्भीरतापूर्वक बुझ्नु जरुरी छ ।’

विशेष गरी व्रतालु युवती/महिलालाई चित्र बनाउनमा भ्याईनभ्याई छ । ‘ब्रह्ममुहूर्तमा दर खाएपछि घरमा रहेको बर्ही(बैठक) कोठामा व्रतालु थारु महिलाले आफ्नै हातले कान्हा अर्थात् भगवान श्रीकृष्णको चित्र सहित अन्य लोक चित्र बनाउने कार्य गर्दै आएका छन्’ व्रतालु महिला प्रेमा चौधरी भन्छिन्, ‘महिलाले बनाउन नजानेको ठाउँमा पुरुषले गएर चित्र कोर्ने गर्छन्। हामीले त अहिले महिला बहिनीहरूलाई ड्रइङ पेपरमा प्रकृति, मानव जीवन र कृष्णको भूमिकाबारे चित्र कोर्न लगाएका छौं। ‘

चित्र बनाउँदा पश्चिमतर्फ चन्द्रमा, पूर्वमा सूर्य, माछा, लठ्ठी, गगटा, सर्प, कुकुर, रुखमा बसेका बाँदर, गड्यौला, कछुवा, हात्ती, घोडा, गोरु, उँट, कुखुरा, मयुर, बिच्छी, वासुकी नाग लगायतका जलचर र थलचर प्राणीहरुका चित्र बनाइने गरिन्छ ।

चित्र बनाउने बीच भागमा दुलही अन्माउँदा दुलहीलाई लैजाने डोले सहितको डोलीको समेत चित्रका माध्यमले देखाउने गरिन्छ । अन्न राख्ने भाँडो र दिवालमा यी चित्र बनाइने गरिएको शत्रुघ्न चौधरीले बताए ।

सृष्टिको रचनादेखि मानव जातिलाई बाँच्नका लागि आवश्यक पर्ने वस्तुबारे चित्रका माध्यमले व्यक्त गरिने भएकाले थारु समुदायमा लोक चित्रकलाको निकै महत्व रहेको छ ।

थारु समुदाय प्रकृति पुजारीका रुपमा रहेकाले पाँच हजार वर्ष अघिदेखि चित्र बनाउने कलाको सुरुवात भएको शत्रुघ्न चौधरी बताउँछन् । उनका अनुसार थारु समुदायले अष्टिम्कीका बेला बनाउने चित्रका लागि सिमीको पातबाट हरियो, खयरबाट कत्थइ, पवैको गेडाबाट रातो, सुकेको लौका आगोमा डढाएर कालो रङ बनाउने गर्दथे । उनका अनुसार चित्रमा लगाइने रङको समेत आ-आफ्नै महत्व रहेको छ ।

कालो रङ्ग शून्यताको प्रतीक, रातो रङ्ग जीवनको उमङ्गता, हरियो रङ धैर्यको प्रतीक, पहेंलो रङ्ग बुद्धिमताको प्रतीक, खैयर रङ शरीरको संवेगात्मक अवस्थाको प्रतीक र नीलो रङलाई परम्परा र मूल्यमान्यताको प्रतीकका रुपमा लिइने गरिन्छ ।

दुई किसिमको अष्टिम्की

संस्कृतिका जानकार शत्रुघ्न चौधरीका अनुसार अष्टिम्की दुई किसिमको हुन्छ। बर्का र छुट्की दुवैमा चित्र उही नै हुन्छन्। तर आकारमा भने साना–ठूला हुन्छन्। उनी भन्छन्, ‘दिनभरि भोकै ब्रत बसेकाहरूले बर्का अष्टिम्कीमा पूजा गर्छन् भने स–साना बच्चाहरू भने छुट्की अष्टिम्कीमा पूजा गर्छन्। जो भोकै ब्रत बस्नुपर्दैन। उनीहरू केही कुरा खाएर पनि बस्न सक्छन्।’

सामा–जामाः जब साँझ भएपछि अष्टिम्की बनाएको घरका मूली महिला (अगुनियाँ, महटिनियाँ) अष्टिम्की बनाएको बहरीलाई राम्ररी गाईको गोबरले लिपपोत गरेर सप्तरंगी गुन्द्री, पटकी, ढाँचिया गुन्द्री बिछ्याउनु, जहाँ पूजा गर्न ल्याएका चमाल राख्छन्।

त्यस्तै आवश्यकता अनुसारका सामानहरू जुराउँछन्। सल्लाको धूप, नौनी मिलाएर, सिंदुर, लोटामा पानी र दुई घोगा सहितको तरा सहितको मकै अष्टिम्की बनाएको पश्चिमपट्टि राखिएको हुन्छ।

अष्टिम्कीको डट्कट्टन

अष्टिम्कीको पहिलो दिन या व्रत बस्नुभन्दा पहिलो भटौर खैना (दर खाने) का लागि दिनभरि माछा मार्ने चलन छ। माछा अरु दिन पनि मारिन्छ तर त्यस दिनको माछा मार्ने कामलाई विशेष मानिन्छ।

दिनभरि लगाएर मारेर ल्याएको माछा धेरै भए साँझको खानासँग खाइन्छ भने केही राति भटौरसँग खानाका लागि बचाइन्छ। यदि कारणवश त्यस दिन माछा मार्न सकिएन भने भटौर नै खल्लो मानिन्छ। भटौर साँझको खानापछि आफ्नो काम सकेर सुतेको केही बेरपछि अथवा भाले बास्नुभन्दा पहिले खाइन्छ। यो खाना अरु दिनको भन्दा विशेष हुन्छ।

माछासँगै अन्य मीठा–मीठा परिकार पनि बनाइएको हुन्छ।

जुन बेसमयमा खाँदा मीठो मानेर खान सकियोस् भनेर त्यस किसिमका परिकार तयार गरिएको हो। यो खाने काम भाले बास्नुभन्दा पहिले हुन्छ। यदि कसैले भाले बासेपछि खायो भने ऊ जुठो परेको ठहरिन्छ र व्रत बस्न पाउँदैन।

दिनभरि व्रत साँझमा पूजा

दिनभरि व्रत बसेका व्रतालुहरू साँझ परेपछि नयाँ–नयाँ कपडा लगाएर अष्टिम्की बनाएको घरमा जान्छन्। साथमा थालमा एक माना चामल, हरियो काँक्रो, काँक्रो नभए ज्यामिर, भोगटे, स्याउ लगायत फलफूल लिएर गएका हुन्छन्। थालको चामलमाथि माटोको दियो पनि बालेर लगेका हुन्छन्। त्यहाँ गाउँ या टोलभरिका महिला जम्मा हुन्छन्।

व्रतालु मात्रै नभएर त्यहाँ हेरालुहरूको पनि उस्तै भीड लागेको हुन्छ। सबै जना जम्मा भइसकेपछि त्यस घरको अगुनियाँ पूजा सुरु हुन्छ। अष्टिम्कीको सबैभन्दा माथि अथवा टाउकोमा गुर्बाबाको चित्र बनाएको हुन्छ। टीको लगाउने काम गुर्बाबाको चित्रबाट सुरु हुन्छ र क्रमशः सबै चित्रमा लगाइन्छ। तर सबैभन्दा तल्लो कोठामा बनाएको रोइनाको चित्रमा भने कसैले पनि लगाउँदैनन्। उसलाई टीका लगाएमा रुने खालका बच्चा जन्मिने जनधारणा छ। तर उमेर पुगेका र बच्चाबच्ची भइसकेकाहरूले भने हँस्यौली पारामा टीका लगाइदिन्छन्।

घोराही उपमहानगरपालिका-१४ स्थित झिङौरा गाउँका स्थानीय थारु समुदायका महिलाहरु बुधबार बेलुका अष्टिम्की चित्रमा पूजा गर्न गाउँमुलिको घरमा जम्मा हुँदै । कृष्ण जन्माष्टमीको दिन व्रत बसेका थारु महिलाहरु गाउँमुलिको घरमा जम्मा भएर अष्टिम्की चित्रमा पूजा आरधना गर्ने गर्दछन । तस्बिर: कुलदीप न्यौपाने / रासस

यसरी टीका लगाइसकेपछि अगियारी दिने चलन छ। आगोमा सल्लाको धूप, नौनी मिसाएर आगोमा हवन गर्ने प्रक्रियालाई अगियारी भनिन्छ। आगोमा सल्लाधूप र नौनी चढाइसकेपछि पानी विजोर पटक घेरो हाल्ने चलन छ। घेरो हाल्ने कामलाई ‘पर्छन्’ भनिन्छ।

टीका लगाउनु भन्दा पहिले आफूले ल्याएका चामल त्यही बिछ्याइएको गुन्द्रीमा राखेका हुन्छन्। चामलको छेउछाउमा काँक्रा र बीचमा दियो हुन्छ। कसैको पूजा नसकिंदै दियो निभ्यो भने लुकेर केही खाएको अथवा पानी खाएको अनुमान लगाइन्छ। गाउँका केटाहरू काँक्रा काट्न आएका हुन्छन्।

पूजा सकिएपछि उनीहरूले काँक्राको भेट्नो काटेर पातसहित यथास्थानमा राख्छन्। काटिएका काँक्रा हेर्न आएकाहरूलाई बाँड्छन् र बचेका काँक्रा घर लिएर जान्छन्। कसैले पश्चिमपट्टिको कुनामा दुई थान जरा सहितको मकै पनि हुन्छ त्यही मकै टिप्छन्।

व्रतालुका लागि फलाहार भोजन

अष्टिम्की विशेष गरेर फलाहार पर्व भएको यसमा फलफूल मात्रै खाने गरिन्छ। जब पूजा सकेर व्रतालुहरू घर फर्किन्छन्। घरमा खानका लागि विभिन्न थरीका फलफूल पनि तयार गरिएको हुन्छ। तर खानुभन्दा यहाँ पनि पूजा गर्नुपर्छ। खाने ठाउँमा गाईको गोबरले लिपपोत गरेर आगो राखिन्छ र त्यसैमा अगियारी दिइन्छ।

अगियारी सल्लाको धूप, नौनी र खानलाई तयारी अवस्थामा रहेका सबै वस्तुबाट मिसाएर आगोमा चढाइन्छ र पर्छने काम गरिन्छ। यति काम सकिसकेपछि आफ्ना चेलीबेटीहरूका लागि ‘अग्रासन’ निकाल्ने गरिन्छ र भोलिपल्ट आफ्ना चेलीबेटीलाई दिन जान्छन्। साँझको खानामा केरा, अम्बा, स्याउ, नासपाती लगायत हुन्छन्।

अष्टिम्की गीतको बेग्लै

यस्तै संस्कृतिका जानकारी नन्दराज चौधरीका अनुसार सबैले खानपिन सकेपछि पुनः अष्टिम्की बनाएको घरमा जम्मा हुन्छन् र रातभर अष्टिम्की गीत गाउने चलन छ।

उनी भन्‍छन्,’सबैले खानपिन सकेपछि पुनः अष्टिम्की बनाएको घरमा जम्मा हुन्छन् र रातभर अष्टिम्की गीत आउने गर्छन्। गीत ठाउँ अनुसार कतै महिलाहरूले गाउँछन् भने कतै पुरुषहरूले मात्रै गाउने चलन छ।’

देउखुरी क्षेत्रलगायत केही ठाउँमा पुरुषहरूले मात्रै गाउने गर्छन् भने अन्य ठाउँमा महिलाहरूले गाउने गरेको उनको भनाइ छ। उनी भन्छन्, ‘व्रत नबसेकाहरूले दारु खाएर र बसेकाहरू भने फलफूल खाएर रातभर गीत गाउँदै जाग्राम बस्छन्।’

गीतको केही अंशः

पहिलेटे सिरिजल जल–ठल ढरटि।
सिरिजिटे गैलाँ हो कुस कई डाभ।।
डुसरे टे सिरिजल अन्न कइ पेरें।
सिरि टे गैलाँ हो अन्न कइ बिरोग।।
टिसरे टे सिरिजल अन्न कइ डाँरे।
सिरि टे गैलाँ अन्न कइ पाट।।
चौटे टे सिरिलज अन्न कइ फुला।
सिरि टे गैलाँ अन्न कइ फल।।

अस्राई जैनाः बिहान भाले बासेपछि घरको अगुनियाँ अष्टिम्कीको डोलीमा अपूर्ण कान्हालाई पूर्णता दिनका लागि अरुकै बारीको कैंठा (चिचिण्डो) चोरेर ल्याउनुपर्छ। चोरेर ल्याएको कैंठाको पूजा गरेर पूर्ण गरिन्छ। यसरी पूर्ण भएपछि कान्हाको जन्म भएको मानिन्छ।

यता भाले बासेपछि ब्रतालुहरूको खाने पिउने कार्य बन्द हुन्छ। उनीहरूले अष्टिम्की विसर्जनका लागि टपरी खुट्न थाल्छन्। टपरी साधारण टपरीभन्दा विशेष प्रकारको हुन्छ। टपरीमा पातकै पाँच या सात वटा दिया जोडिएको हुन्छ।

बिहान जम्मा भइसकेपछि आफ्नो चामलमाथि राखिएको काँक्रोको भेट्नो र पात पनि त्यही टपरीमा राख्छन् र पुनः दियो बाल्छन्। जब अगुनियाँ आफ्नो सबै सामान तयार गरेर निस्किएपछि अरु पनि सँगै लाग्छन् घाट, नदी, कुलोतिर। त्यहीं विसर्जन गरेर नुहाई घर फर्किन्छन्।

फरहारः विसर्जनपछि आफ्नोतिर लाग्छन्। घरमा खँरिया, फुलौरी, पोँइ र झिलंगीको ठुसा, सुकेको माछा, भात तयार गर्छन्। जब तयार हुन्छ, तब ‘फरहार’ गर्नका लागि तयार हुन्छन्। फरहार गर्नेबेला पनि साँझ गरे जस्तै अगियारी दिई आफ्नो चेलीबेटीको लागि अग्रासन निकाल्ने चलन छ।

चेलीबेटीको अग्रासन

चेलीबेटीहरूको नाममा निकालिएको खानेकुरालाई अग्रासन भनिन्छ। सबै काम सकिएपछि आफ्ना चेलीबेटीहरूलाई अग्रासन दिन जान्छन्। यो धेरै दिनपछि दिदीबहिनीहरूसँगको भेटले सद्भाव आत्मीयता बढाउँछ। चेलीहरू आफ्ना दाजु–भाइलाई सम्मान गर्छन्। थारू समुदायमा दारु, मासु खुवाएर सम्मान गर्छन्। भेटघाटबाट मनमा लागेको पीर–व्यथा सुन्ने सुनाउने अवसरको रूपमा पनि लिइन्छ।

यसरी विधिवत् रूपमा अष्टिम्की सकिन्छ। हिजोभन्दा आज अष्टिम्की धेरै फेरबदल भइसकेको छ। प्रकृति पूजक थारु समुदायको यो मौलिक पर्व भए पनि कालान्तरमा आएर यसको बाह्य प्रभाव पनि परिरहेको छ। पहिल्लो समय यस पर्वलाई कृष्णको गाथासँग जोडेर वर्णन गर्न थालिएको छ। र जबर्जस्त हिन्दुकरण गर्न थालिएको पनि पाइन्छ।

आम मानिसको बुझाइमा अष्टिम्की र कृष्णजन्माष्टमी एउटै हो भन्ने गलत बुझाइ रहेको पाइन्छ। तर यसको गहिराइ र वास्तविक त्यसो नभएर अष्टिम्की प्रकृति, सृष्टि र मानव जीवनशैलीको गाथा गाइन्छ। जुन गीत थारु समुदायको सबैभन्दा पुरानो मानिने ‘गुर्बाबक जल्मौटी’ गीतको हुबहु कथावस्तुमा आधारित लयान्तर गरिएको गीत हो।

यो चाड अरु चाडपर्व जस्तै विकृत बन्दै गएको छ। धेरैले आधुनिकताको नाममा फजुल खर्च गर्ने, सम्मानको नाममा महँगा रक्सी, रंगहरूको प्रयोग, मौलिक परिकारभन्दा बाह्य परिकारको प्रयोग अत्यधिक रूपमा प्रयोग गरिएको हुन्छ।

आजको अवस्था रुढ संस्कारलाई परिमार्जन गरेर प्रगतिशील संस्कार निर्माण गर्नु स्वाभाविक हो। तर संस्कार परिमार्जनको नाउँमा त्यसलाई अझ खर्चिलो, महँगा, भड्कावपूर्ण, समाजमा नकारात्मक प्रभाव पार्छ।

युवा पुस्ताको आकर्षण

अहिले काठमाडौं लगायत देशभर थारू समुदायले अष्टिम्की मनाइरहँदा यसप्रति युवाहरूको पनि आकर्षण बढ्‍दै गएको छ । अष्टिम्की मनाउन आएका दाङका अर्नव चौधरी भन्छन्, ‘पहिला त हामीलाई खासै रुचि थिएन अष्टिम्कीप्रति। तर जब प्रकृति र जीवनबारे बुझ्‍ने मौका पाए, अनि यस पर्वमा थप चासो दिन थाले ।’

यस्तै कञ्चनपुरकी विनिता चौधरी भन्छिन्, ‘हामी त दिदीभाइहरूको लहलहैमा जान्थ्यौ । तर अहिले चित्रकलाबारे बुझ्ने भएपछि हामी आफैं यसमा सरिक हुनुपर्छ र जनचेतना जगाउनुपर्छ भनेर प्रत्‍येक अष्टिम्कीमा आउँछौं र चित्र बनाउन पनि सिक्दैछौं।’

अष्टिम्कीको रातभरि जाग्राम बसी घरका सबै जनाले कान्हा (श्रीकृष्ण)को परम्परागत लोक भाखामा गीत गाउने गर्दछन् । अष्टिम्कीको दोस्रो दिनको बिहानै पूजा गरी पूजा गरिएको सामग्रीसहित चामल सहितको दियो बालेर नदी तलाउमा विसर्जन गरी स्नान गरेर सबै जना घर फर्कने गर्दछन् । घरमा बनाइएका पकवानको केही भाग भगवानलाई अर्पण गरी व्रतालु महिलाले भोजन ग्रहण गर्दछन् ।

सहदेव चौधरी

सहदेव चौधरी

About Author