२१ माघ २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

उपप्रधानमन्त्री श्रेष्ठसँग संयुक्त अधिराज्यका राजदूत फेनको शिष्टाचार भेट

१५ भदौ, काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेनबीच आज गृहमन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच मैत्री सन्धि भएको सय वर्ष पुगेकामा राजदूत फेनलाई बधाई दिँदै राजदूतको कार्यकालको सफलताको शुभकामना दिए ।

उपप्रधानमन्त्री श्रेष्ठले बेलायतले नेपालको विकासमा सधैँ साथ दिएकामा आभार व्यक्त गर्दै दुई देशबीच सरकार र जनस्तरमा समेत बहुआयामिक सम्बन्ध रहिआएको बताए । ६ दशकको लामो राजनीतिक सङ्घर्षपछि स्थापित ऐतिहासिक परिवर्तनलाई नेपाली जनताले महसुस गर्नेगरी आर्थिक सामाजिक विकासका माध्यमबाट संस्थागत गर्नु नेपाल सरकारको मूल कार्यभार रहेको उनले बताए ।

यसका लागि नेपालका विकास साझेदारको सहयोग महत्वपूर्ण रहेको र सन् २०२६ मा नेपाल अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने भएकाले यसलाई दिगो बनाउन मैत्रीराष्ट्रको सहयोग थप महत्वपूर्ण हुने उनले बताए ।

राजदूत फेनले नेपालको संविधानको विश्वले प्रशंसा गरेको जनाउँदै नेपाल सरकारको प्राथमिकता तथा नीति र बेलायती सहयोगबीच तादात्म्यता रहेको धारणा व्यक्त गरे ।

सामाजिक न्याय, महिला हिंसाविरुद्धको अभियान र नेपालको भौतिक विकासमा बेलायती सहयोग केन्द्रित रहेको र आफू नेपालमा रहुञ्जेल प्राचीनकालदेखि दुई देशबीच रहिआएको सम्बन्ध अझ बलियो बनाउन प्रयासरत रहने विश्वास उनले दिलाए ।

सो अवसरमा राजदूत फेनले मैत्री सन्धि भएको सय वर्ष पुगेकामा आफूलाई गर्व लागेको र दुई देशबीचको सम्बन्धलाई अझ आधुनिकीकरण गर्नु जरुरी रहेको बताए ।

बेलायतमा नेपालबारे बेग्लै पहिचान स्थापित भएको, नेपालीप्रति बेलायतीको गहिरो सद्भाव रहेको र उक्त सद्भावको उचित कदर गर्दै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने जिम्मेवारी आफूहरूको रहेको उनको भनाइ थियो ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।