१२ श्रावण २०८१, शनिबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

बञ्चरेडाँडामा असोजदेखि फोहोर फाल्न नदिने स्थानीयको चेतावनी

११ भदौ, काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइट वरपरका बासिन्दाले सहमति अनुसार फोहोर व्यवस्थापन नगरेको भन्दै १ असोजदेखि फोहोर फाल्न नदिने चेतावनी दिएका छन् ।

बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले सोमबार पत्रकार सम्मेलन गरी यसअघि भएका सहमति पालना नभए असोज १ देखि फोहोर फाल्न नदिने बताएको हो ।

समितिका संयोजक श्रीराम ढुंगानाले भने, ‘मान्छे र फोहोर एकै ठाउँमा बस्न मिल्दैन, हाम्रो मुख्य माग यही नै हो । त्यसैले अब बञ्चरेडाँडामा फोहोर लैजान रोक्नेछौं ।’

ल्याण्डफिल साइट प्रभावित क्षेत्रलाई विशेष सम्वेदनशील क्षेत्र घोषणा गर्नुपर्ने, प्रभावित क्षेत्रलाई अधिग्रहण गरेर मानव बस्तीरहित हरियाली क्षेत्र कायम गर्नुपर्ने, अस्पतालजन्य, विषादीजन्य र औद्योगिक फोहोरमैला फाल्न नपाइने उनीहरुको माग छ ।

काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाको सिमानामा पर्ने बञ्चरेडाँडामा फाल्ने गरिएको छ । स्थानीय बासिन्दाले बेला बेलामा आन्दोलन गरे पनि अस्थायी समाधान खोजेर फोहोर फाल्ने गरिएको छ ।

टुँडिखेलमा १० हजार मान्छे उतार्ने चेतावनी

माग पूरा नगरे असोज १ देखि फोहोर रोक्ने र सरकारले जबर्जस्ती गरे १० हजार मान्छे टुँडिखेल उतार्ने सरोकार समितिले बताएको छ । ‘धादिङ र नुवाकोटको १० हजार मान्छेलाई यहाँको प्रहरी प्रशासनले कुन–कुन जेलमा कतिदिन राख्छ हामी हाम्रा छोरा र नातिहरुका लागि त्यो सामना गर्छौं’, संयोजक ढुंगानाले भने ।

ल्याण्डफिल साइट क्षेत्रका बासिन्दा हरि लामाले सो क्षेत्रमा कि फोहोर कि मान्छेमात्र रहन सक्ने बताए । आफूहरुको मागलाई संघीय सरकार, प्रदेश सरकार र काठमाडौं महानगरपालिकाले बेवास्ता गरेको उनको भनाइ छ ।

सरोकार समितिकी उपसंयोजक सुमित्रा ढकाल (घिमिरे)ले फोहोरमैलाको दीर्घकालीन समाधान हुन आवश्यक रहेको बताइन् ।

ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले प्रभावित क्षेत्रका बासिन्दाले स्वतःस्फुर्त आन्दोलनको तयारी गरेको बताए । ‘ल्याण्डफिल साइटको धुनीबेशी नगरपालिका र ककनी गाउँपालिकाले आधिकारिक रुपमा रोक्ने निर्णय गरेको छैन तर स्थानीयको तयारी रहेको सुनेको छु’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्