१३ कार्तिक २०८२, बिहीबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

मुस्ताङको यातायात सम्पर्कविच्छेद

३० साउन, म्याग्दी । मुस्ताङको आन्तरिक र छिमेकी जिल्लाहरुसँग यातायात सम्पर्कविच्छेद भएको छ । बाढीले सडक र झोलुङ्गे पुल बगाएपछि मुस्ताङको एउटा पालिकादेखि अर्को पालिका तथा छिमेकी जिल्ला म्याग्दी हुँदै प्रदेश राजधानी पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने सडक सम्बन्ध टुटेको हो ।

प्रतिकूल मौसमका कारण जोमसोम–पोखरा हवाई उडान पनि बन्द भएको छ । मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने बेनी–जोमसोम सडक म्याग्दीको रघुगङ्गा गाउँपालिका २ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोला क्षेत्रको पहिरोका कारण साउन २० गतेदेखि बन्दछ ।

जोमसोमदेखि थासाङ गाउँपालिकालाई जोड्ने सडक मार्फाखोलामा आउने बाढीका कारण दैनिकजसो अवरुद्ध हुने गरेको छ । घरपझोङ गाउँपालिका–४ जोमसोममा कालीगण्डकीले कटान गरेर सडक भत्काएपछि जोमसोम–कागबेनी–मुक्तिनाथ सडक मङ्गलबार बिहानदेखि बन्द भएको छ ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको मोटरेबल र झोलुङ्गे पुल आइतबार राति कागखोलामा आएको बाढीले बगाएको थियो । मोटरेबल र झोलुङ्गे पुल बाढीले बगाएपछि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको साथै बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङ, ताङ्वे गाउँसँग सडक सम्पर्कविच्छेद भएको हो ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले चैलेमा कालीगण्डकी नदीको मोटरेबल पुलको पहुँचमार्ग बगाएको र चराङखोलाको काठको अस्थायी पुल बाढीले भत्काउँदा यातायात सम्पर्कविच्छेद भएको बताउनुभयो ।

“कागबेनी, छुसाङ र चराङखोलामा बाढीले सडक, पुल बगाएको र भत्काएको हुँदा उपल्लो मुस्ताङ आउने-जाने बाटो बन्द भएको छ’, उनले भने, ‘वर्षा रोकिएर बाढी आउन छाडेपछि सडक मर्मत र पुल बगाएको ठाउँमा डाइभर्सन बनाएर यातायात सञ्चालनको पहल गरेका छौँ ।’

सडक अवरुद्ध हुँदा मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटक प्रभावित भएका छन् । खाद्यान्नलगायत दैनिक उपभोग्य सामान र निर्माण सामग्रीको ढुवानी हुन सकेको छैन । बाढी प्रभावित कागबेनीमा खानेपानी अभाव र विद्युत् आपूर्ति बन्द भएको छ ।

बाढीले विद्युत्का पोल र खानेपानीको पाइप बगाएको थियो । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष रिनजिन गुरुङले खानेपानी र विद्युत् आपूर्ति सञ्चालन गराउन पहल भइरहेको बताउनुभयो ।

‘क्षतिको मुचुल्का तयार पार्ने कार्यलाई पूर्णता दिएर आजदेखि बस्तीभित्र पसेको बाढी पन्छाउने, खानेपानी र विद्युत् मर्मत गर्ने केन्द्रित भएका छौँ’, उनले भने, ‘बाढी प्रभावितको राहत, व्यवस्थापन र पुनःनिर्माणको काम एकद्वार प्रणालीबाट गर्ने व्यवस्था मिलाएका छौँ ।’

 

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व